काठमाडौं,२१ माघ । नेपाल प्रहरीले विभिन्न जिल्लाहरुमा सिके राउतका कार्यकर्तासँगै नेत्रविक्रम चन्द (विप्लव) माओवादी निकट कार्यकर्ताहरुको पनि विवरण संकलन सुरु गरेको छ ।
चन्द नेतृत्वको माओवादीले देशमा सशस्त्र संघर्ष गर्ने धम्की दिइरहेको र आगामी चुनावमा हिंसात्मक गतिविधि गर्ने सम्भावना भएकाले उनीहरुमाथि निगरानी थालिएको छ ।
विशेष गरी सिके राउतको प्रभाव रहेको भनिएका तराई मधेसका जिल्लाहरु रहेका प्रहरी कार्यालयहरुलाई गृहमन्त्रालयले सर्कुलर नै पठाएर सिके राउत र विप्लव माओवादीका स्थानीय कमिटीहरुको नाम संकलन गरी पठाउन भनेको छ ।
प्रहरीले सिराहाका विभिन्न स्थानमा सिके राउतको उपस्थिति देखिए पनि विप्लव माओवादीको भने उपस्थिति खासै नदेखिएको प्रतिवेदन प्रहरी हेडक्वार्टरमा पठाएको छ । जस्तै इप्रका लाहानले पठाएको प्रतिवेदनमा त्यहाँ विप्लव माओवादी नदेखिएको उल्लेख छ तर पहाडका जिल्लाहरुमा भने विप्लव माओवादीको गतिविधि रहेको भन्दै उनीको नाम संकलन भइरहेको प्रहरी स्रोतले बतायो ।