शनिबार, बैशाख ०८, २०८१

युरोपा लिगमा म्यानचेस्टरको शानदार जित,रोमा ६–२ गोल अन्तरले पराजित

युरोपा लिग अन्तर्गत सेमिफाईनलको पहिलो लेगमा म्यानचेष्टर युनाईटेड र भियारियल विजयी भएका छन । रोमालाई ६–२ गोल अन्तरले हराउदै म्यान युनाईटेडले फाईनल प्रबेशको संभावना बलियो बनाएको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जिताउन बुर्नो फर्नाण्डेज र ईडिसन काभानीले समान २ तथा पउल पोग्वा र मासन ग्रीनउडले एक एक गोल गरे । पहिलो हाफमा २–१ ले पछि परेको अवस्था उल्टाउदै युनाईटेडले शानदार पुनरागमन जित हात पारेको हो ।

नवौ मिनेटमा फर्नाण्डेजको गोलमा युनाईटेडले अग्रता बनाएको थियो । तर उसको अग्रता लामो समय रहन सकेन् । १५ औ मिनेटमा लोरेन्जो पेलेग्रीनले पेनाल्टिमार्फत गोल गर्दै रोमालाई बराबरीम पुर्याए । ३३ औ मिनेटमा ईडिन जेकोले गोल गर्दै पहिलो हाफभर रोमालाई २–१ को अग्रता दिएका थिए । दोस्रो हाफमा आक्रामक बनेको युनाईटेडले ५ गोल गर्दै फाईनल प्रबेशको संभावना बलियो बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा भियारियलले आर्सनललाई २–१ गोल अन्तरले हरायो । दुबै टोली १० खेलाडीमा समेटिएको खेलमा पहिलो हाफमै भियारिलले २–० को अग्रता लिएको थियो । निकोलस पेपेले ७३ औ मिनेटमा पेनाल्टिमा गोल गर्दै आर्सनलको अन्तर घटाएका थिए । सेमिफाईनलको दोस्रो लेग मे ६ मा हुनेछ ।