शुक्रबार, चैत १६, २०८०

हरिद्वारको कुम्भमेलामा सहभागी सयौँसहित भारतमा थप २ लाख ७ हजारलाई कोरोना संक्रमण

कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

दुई महिना लामो मेलाको एउटा मुहूर्तमा मङ्गलबर ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए । लाखौँ मानिसले बुधबार पनि पवित्र गङ्गा नदीमा स्नान गरेका थिए । भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन् ।

भारतमा गत वर्ष कोभिड महामारी सुरु भएपछि बुधबार अहिलेसम्मकै सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि भएको छ। भारत सरकारका अनुसार २४ घण्टाको अवधिमा मङ्गलवार एक लाख ८४ हजार ३७२ र बुधबार २ लाख ७ हजार ३९ मा कोभिड देखिएको हो । महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला उक्त मेला गर्न दिइएको सरकारको आलोचना भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार बुधबार दिउँसोसम्म नौ लाख श्रद्धालुले गङ्गास्थान गरिसकेका छन् । बुधवार यसपालिको सबैभन्दा शुभ मुहूर्त मानिएको थियो । हिन्दूहरू गङ्गा नदीलाई पवित्र मान्छन् र त्यसमा डुबुल्की मारेर स्नान गर्दा पाप नष्ट हुने र पुण्य प्राप्त हुने मान्यता राख्छन् । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलबार गङ्गास्थान गरेका थिए ।

गङ्गाको तटमा ठूलो भिड जम्मा भएकाले स्वस्थ्य सुरक्षा मापदण्ड पालन गराउन समस्या भएको प्रहरी अधिकारीहरूले बताएका छन् । उक्त मेलामा कोभिड–१९ को परीक्षणको नेतृत्व गरेका अधिकारीहरूले बताएअनुसार त्यस क्षेत्रबाट मङ्गलबार २० हजार नमुना परीक्षण गरिएकोमा ११० जनामा सङ्क्रमण देखिएको छ ।

सोमबार १८४ जना भक्तजनमा सङ्क्रमण देखिएको थियो । कुम्भमेलाका स्वास्थ्य अधिकारी डा. अर्जुन सेङ्गरले नौ वरिष्ठ धार्मिक नेतामा पनि सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । चौधवटा हिन्दू समूहहरूको सङ्घका अध्यक्ष नरेन्द्र गिरी पनि सङ्क्रमित भएका छन्। । उनी अखिल भारतीय आयुर्वेदिक संस्थान हरिद्वारमा भर्ना भएका छन् ।

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव पनि सङ्क्रमित भएका छन् । उनले आइतवार मात्र हरिद्वार भ्रमण गरेका थिए र गिरीसहित वरिष्ठ सन्तहरूलाई भेटेका थिए ।

उक्त मेलामा भ्रमण नगरेका भए पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सङ्क्रमित भएका छन् । उत्तराखण्डका मुख्यमन्त्री तिरथसिंह रावतले आफूहरूले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालन गरिरहेको र सङ्क्रमित निको हुने दर राम्रो रहेको बताए ।

सरकारले पहिले परीक्षणबाट कोरोनाभाइरस सङ्क्रमण नभएको पुष्टि भएका व्यक्तिलाई मात्र उक्त मेलामा सहभागी हुन दिने बताएको थियो ।