पोखरा, १४ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीको शुक्रवारमा पोखरा सम्पन्न बैठकले माघको २६ गते पाँचौ अधिवेशन गर्ने भएको छ ।
फोनिज कास्कीको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले उक्त निर्णय गर्दै नेतृत्व सर्वसम्मत चयनका लागि संस्थापक अध्यक्ष एवं सल्लाहकार रुद्रबहादुर थापामगरको संयोजकत्वमा सल्लाहकार राजबहादुर गुरुङ र सल्लाहकार सरस्वती गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ ।
बैठकले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को सदस्यता नविकरण गर्न र नयाँ सदस्यका लागि माघ २४ गतेसम्म फारम भर्नका लागि आव्हान गरेको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा हुने अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न र नेपाल पत्रकार महासंघको आउदो निर्वाचनका विषयमा छलफल गर्न माघ २३ गते दिउसो २ बजे तमु धिं नेपालमै बृहत भेला आयोजना गरिएको सचिव रोशनी तमुले जानकारी दिनुभयो ।
यसरी नै बैठकले फोनिज केन्द्रको माघ १२ गते सम्पन्न बैठकको निर्देशन बमोजिम र फोनिज आधारभुत मान्यता अनुसार नेपाल पत्रकार महासंघको निर्वाचनमा आदिवासी जनजाति पत्रकारहरुलाई नेतृत्व, पदाधिकारी, कार्यसमिति र केन्द्रीय पार्षदमा अधिकतम प्रतिनीधित्व गराउन पहल गर्ने निर्णय गरेको छ । पत्रकार महासंघ अन्र्तगतको आदिवासी जनजाति कोटामा प्रतिनिधी पठाउने जिम्मेवारी फोनिजलाई प्रदान गर्न आग्रह गरेको छ ।
बैठकमा फोनिज कास्कीका अध्यक्ष हुमबहादुर तमुले आगामी फोनिज कास्कीमा रहेका काम गर्न इच्छुक र पत्रकार महासंघको पदाधिकारी, कार्यसमिति सदस्य र केन्द्रीय पार्षदमा उम्मेदवार बन्न चाहेका आदिवासी जनजाति पत्रकारहरुले समयमै इच्छा जाहेर गर्न र एकै पदमा दुई आदिवासी जनजाति प्रत्यासी नबन्न आग्रह गर्नुभयो । उक्त बैठकमा नेपाल पत्रकार महासंघ कास्की शाखाको अध्यक्षका प्रत्यासी बन्नुभएका फोनिज कास्कीका सल्लाहकार दिपेन्द्र श्रेष्ठले आफुलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । नेपाल पत्रकार महासंघमा हाल कास्कीका ६० जना आदिवासी जनजाति पत्रकारहरु आवद्धछन् ।
बैठक फोनिज कास्कीका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा सम्पन्न भएको थियो ।