शुक्रबार, चैत १६, २०८०

सरकार निर्वाचनको तयारीमा जुटेको छ : उपप्रधानमन्त्री पोखरेल

चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार निर्वाचनको तयारीमा जुटेको बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पोखरेलले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशंका गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उनले भने, ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर आशंका गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ ।’ कहीँकतै कोहीकोही व्यक्ति, पक्षहरुले निर्वाचन विरोधी कुरा गरे पनि ती सबै हास्यापद रहेको उनको भनाइ थियो । उनले भने, ‘लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हरकोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरु निर्वाचनमा जाने कुरा, जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन । उपप्रधानमन्त्री पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

नेकपा सचिवालय सदस्य पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाउने विश्वास व्यक्त गरे ।