बिहिबार, चैत १५, २०८०

तपाईँलाई ऋण चाहिएको छ ? यसरी लिनुस् फोनबाटै ऋण

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ ।

हाल ‘फोन लोन’को सुविधा तीनवटा वाणिज्य बैंकले दिइरहेका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा दिएका छन् । नेपालमा पहिलोपटक शुरु भएको फोन लोनमार्फत सय दिनमा कूल एक हजारले ऋण लिएको पाइएको हो । निजी क्षेत्रको सेवाप्रदायक एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिमा आकर्षण देखिएको हो ।

बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकताअनुसार ऋण मोबाइलबाट लिन सक्नेछन् । बैंकमा नियमित कारोवार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको सम्बन्धित बैंकले जनाएको छ ।

बैंकले दुई लाखसम्म ऋण दिने गरिएको छ । बैंकमा खाता भएका व्यक्तिले आफ्नो मोबाइल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंंकसम्म जानुपर्ने तथा धितो राख्नुपर्ने झन्झटसमेत हुँदैन । ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया विना नै आफ्नो मोबाइल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन् ।

विनाधितो, विनाकागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले जानकारी दिए ।

उनले भने, “एफवान सफ्टले जहिले पनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ । यसै क्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गर्यौँ ।” यो सुविधामा अहिले बैंकमा आकर्षण निकै देखिएको छ । आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिइएको ढकालले जानकारी दिए ।

एफवान सफ्ट नेपालको डिजिटल वित्तीय सेवा कम्पनी हो । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरेको दाबी गरेको छ ।