नयाँ विद्यालय भवन हस्तान्तरण

कैलाश खत्री,रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ११ गेलु नाटिलामा रहेको २०७२ सालकाे भुकम्पले क्षति पुर्‍याएकाे मनकामना माध्यमिक विद्यालय भवन पुनः निर्माण गरि हस्तान्तरण गरिएको छ ।
माघ १२ गते सोमबार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी विद्याय हस्तान्तरण गरिएको हो । मनकामना माध्यमिक विद्यालयको नयाँ भवन १२/१२ कोठाका दुई ओटा रहेका छन् । भवन निर्माणको जिम्मा दुई वर्ष अघि नै शर्मा खानी जेभिले लिएको थियाे । कुल ८ करोड ३ लाख ८३ हजार खर्च भएको जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा )रामेछापका प्रमुख निर्मल कुमार घिमिरेले जानकारी दिनुभयो ।

नयाँ विद्यालय भवन पाएसँगै त्यस क्षेत्रका विद्यार्थी, शिक्षक र अभिभावक भने खुसी भएका छन् ।उनीहरूले आफ्नै गाउँमा सुविधा सम्पन्न विद्यालय निर्माण भएपछि खुसीयालीमा पञ्चेबाजा सहित गाउँ परिक्रमा गरेका थिए । सरोकारवालाहरुले सुविधा सम्पन्न भवन बनेपछि अब विद्यालय प्रशासनले गुणस्तरिय शिक्षा दिने वातावरण बनाउनु पर्ने बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ रहनुभएको थियो । कार्यक्रमलाई संविधानसभाका सदस्य तारानारायण श्रेष्ठ, मन्थली नगपालिका महाशाखा प्रमुख (उप-सचिब )हेमन्त कुमार बुढाथोकी, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापका प्रमुख निर्मल कुमार घिमिरे, नेकपा मन्थली नगर कमिटीका सचिब दिपक प्रसाइँ, मन्थली नगरपालिका वडा नं ११ का अध्यक्ष भिम बहादुर थापामगर, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल र विद्यालयका प्रधानध्यापक इन्द्र बहादुर खत्रीले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले भौतिक संरचनाको सफलता पछि अब शैक्षिक सुधारमा विद्यालय लाग्नु पर्नेमा जोड दिनुभएको थियो । गेलु नाटिलाका स्थानीय समेत रहनुभएका पूर्व गृह राज्यमन्त्री श्रेष्ठले सुविधा सम्पन्न विद्यालयमा हुनु पर्ने सबै सुविधा नवनिर्मित विद्यालयमा रहेकाले अब गुणस्तरिय शिक्षा हासिल गर्न कुनै समस्या नरहेको धाराण व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष भिम बहादुर थापामगरले विद्यालय क्षेत्रका जुनसुकै समस्या समधान गर्न आफू तत्पर रहेको भन्दै दत्तचित्त भएर शैक्षिक सुधारको काममा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा निर्माण क्षेत्रसँग संम्बद्ध कम्पनी, व्यक्ति र संस्थाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यस कार्यक्रममा मन्थली नगरपालिका वडा नं ११ का जनप्रतिनिधि, स्थानीय, छिमेकी विद्यालयका प्रमुख प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया