बिहिबार, बैशाख १०, २०८३

प्रधानमन्त्री कप : विभागीय टोली आर्मी र पुलिस विजयी

चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आआफ्नो खेलमा विजयी भएका छन् ।

आर्मीले प्रदेश नं १ लाई चार विकेटले तथा पुलिसले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा टस जितेर प्रदेश १ ले ब्याटिङ गर्दै ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३१ रन बनायो । एक सय ३२ रनको विजय लक्ष्य आर्मीले २९ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । आर्मीका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३६ रनको योगदान दिए ।

यस्तै भीम सार्कीले २९, राजेश पुलामीले अविजित २४ तथा लोकेश बमले १३ रन बनाए। बलिङतर्फ प्रदेश १ का लागि फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभाङ्कर उरावले एक एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गर्ने क्रममा प्रदेश १ का लागि विवेक मेहताले ५० रनको अर्धशतकीय पारी खेले। यस्तै फिर्दोस अन्सारीले ३२, दीपक पासवानले १९ तथा दिपेश कँडेलले ११ रन बनाए ।

बलिङतर्फ आर्मीका लागि शाहव आलम एक्लैले चार विकेट लिए । यस्तै आकाश चन्दले तीन विकेट लिए। जितसँगै आर्मी तीन खेलमा ६ अङ्कका साथ सेमिफाइनल नजिक पुगेको छ । तीन खेलमा हार बेहोरेको प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको अर्को खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशले ३३ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै ११० रन बनायो । एक सय ११ रनको विजय लक्ष्य पुलिसले १७ दशमलव एक ओभरमा एक विकेटको क्षतीमा पूरा ग¥यो । पुलिसका लागि सुनील धमलाले ५७ तथा कुशल भुर्तेलले अविजीत ५१ रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले एक विकेट लिए।

यसअघि पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमका खड्क बोहोराले ४०, सञ्जु धाँमीले ३५, अरुण ऐरीले १३ तथा अर्जुन साउदले १० रन बनाए। बलिङतर्फ पुलिस क्लबका सागर ढकालल र दीपेन्द्रसिंह ऐरीले चार चार विकेट लिए ।