शुक्रबार, बैशाख ०७, २०८१

टोटनह्याम,चेल्सी र म्यान्चेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश

प्रिमियर क्लबहरु चेल्सी, म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब बर्मीङ्घम सिटीलाई ३–० ले हराउँदै म्यान्चेस्टर सिटी चौथो चरणमा उक्लेको हो ।

सिटीका शिर्ष खेलाडी सर्जियो अगुएरोलाई कोरोना संक्रमण भएपछि यो खेल गुमाएका थिए । अगुएरोको अनुपस्थितिमा म्यान सिटीलाई विजयी गराउन बर्नार्डो सिल्भाले दुई तथा फिल फोडेनले एक गोल गरे ।

एफए कपकै अर्को खेलमा लिग टु को मोरेक्याम्बेलाई ४–० ले हराउँदै चेल्सी चौथो चरणमा पुगेको छ । चेल्सीको जितमा टिमो वेर्नर, मेसन माउन्ट, क्यालम हड्सन ओडोई र काइ हाभर्ट्जले एक एक गोल गरे । गएराति भएको अर्को खेलमा मरिन एसोसिएसन फुबल क्लबलाई ५–० ले हराउँदै टोटनह्याम हट्सपर पनि चौथो चरणमा पुग्यो ।

खेलमा टोटनह्यामलाई विजयी गराउन कार्लोस भिनिसियसले ह्याट्रिक गर्दा लुकास मौरा र डेभिनेले एक एक गोल थपे । गएराति लिड्स युनाइटेडलाई भने क्रले टाउन एफसीले ३–० ले पराजित ग-यो ।