शनिबार, बैशाख ०८, २०८१

नेपालमा ३१४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३७६२ पुग्यो, १४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको बताउनुभयो । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यस्तै कोरोना संक्रमणको पुष्टि हुनेहरुको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ३ सय १४ जनामा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । जस मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।

सोमबार देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन भने आइसेलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेका छन् ।