शनिबार, बैशाख ०८, २०८१

सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट ३१ थान जस्ता पाता खस्यो

सोलुखुम्बु । सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट जस्तापाता लगायत घर निर्माण सामाग्री खसेको छ ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ दिङ्बुचे जाँदै गरेको हेलिकोप्टरबाट लुङदिङ भन्ने जङ्गलमा घर निर्माणका साम्राग्री खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुष्टी गरेको छ ।

शनिबार बिहान साढे १० बजेतिर सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ खोला जङ्गलमा इको प्यानलको ३१ थान जस्तापाता र २ रोल म्याटिस खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र दर्नालले डिसी नेपाललाई बताए ।

दर्नालका अनुसार, उक्त स्थानमा मानविय वस्ती नभएकाले कुनै भौतिक र जनधनको क्षति हुन नपाएको बताए । अहिलेसम्म उक्त स्थानमा प्रहरी पुग्न सकेको छैन ।

कैलाश एअरको ९ एनएएमटीको हेलिकोप्टर दिङ्बुचेका कुलबहादुर तामाङको निजी सामाग्री लिएर टाक्सीन्दुबाट उडेको थियो।