शुक्रबार, बैशाख ०७, २०८१

भ्रमण वर्ष र आयुर्वेदिक उत्पादनका लागि रामदेवको कार्यक्रम

योगगुरु रामदेव ‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ नेपाल आउने भएका छन् ।

करिब एक हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति र कर्मचारीसहित उनी नेपाल आउन लागेको पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहले जानकारी दिए ।

आगामी चैत २२ देखि पोखरामा आयोजना हुने तीनदिने योग शिविर सञ्चालन गर्न र पश्चिमाञ्चलको तीन स्थानमा गुरुकुल संस्था सञ्चालनको भूमिपूजा गर्न नेपाल आउन लागेका हुन् । उनी सोही महिनाको २६ गतेसम्म नेपालमा रहने कार्यक्रम छ।

रामदेवको साथमा आचार्य बालकृष्णसहित अन्य गुरुको समेत सहभागिता रहने बताइएको छ। तीन वर्षअघि पनि उनी नेपाल आएका थिए । पाँच दिनअघि नेपाल भ्रमणमा आउनुभएका आचार्य बालकृष्णले रामदेवको भ्रमणको मिति तय गरेका हुन् ।

‘नेपालले योग शिक्षालाई विशेष महत्व राखेको र विद्यालयमा समेत योग शिक्षा सञ्चालन गर्न थालेपछि त्यसलाई प्रोत्साहित गर्न गुरु रामदेव नेपाल आउन लाग्नुभएको हो’, संरक्षक सिंहले भने, ‘उहाँ आउने पक्का भएपछि योग शिविर र अन्य कार्यक्रमलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा काम शुरू गरेका छौं।’

उनका अनुसार रामदेवले पोखरा तथा स्याङ्जाको सावर र चापाकोटमा निर्माण हुन लागेको गुरुकुलको भूमिपूजा गर्ने कार्यक्रम तय भएको छ।

नेपालमा तीनदिन योग शिविर गरेपछि उनले कपिलवस्तु, भैरहवा, लुम्बिनी, पोखरा, चितवनलगायत गण्डकी र बाग्मती प्रदेशका विभिन्न जिल्ला भ्रमण गर्ने कार्यक्रम छ।

संरक्षक सिंहका अनुसार योग शिविर र नेपाल भ्रमण वर्ष सफल पार्न ५ सयदेखि १ हजार जनासम्म गुरु र पतञ्जलीका उच्च अधिकारी नेपाल आउनेछन्। नेपाल बसाइको क्रममा रामदेवले नेपालका प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेता र योगगुरुसंँग भेट गर्ने कार्यक्रम छ। नेपाल समाचारपत्रमा खबर छ ।