शुक्रबार, चैत १६, २०८०

‘जनयुद्ध दिवस’ मा पहिलो पटक प्रधानमन्त्री ओली सहभागी हुने

काठमाडौं । तत्कालीन माओवादीले ‘जनयुद्ध’ थालनी गरेको दिनलाई जनयुद्ध दिवसका रुमपा मनाउने गरिन्छ। यो पटक जनयुद्ध दिवसमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसमेत सहभागी हुने भएका छन्।

बिहीबार विहान नौ बजे नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिने कार्यक्रममा पहिलो पटक नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सहभागी हुने भएका हुन्। नेकपा कार्यालय सचिव एवं सांसद कृष्णगोपाल श्रेष्ठले जनयुद्ध दिवसमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीपनि सहभागी हुने जानकारी दिए।

‘दुवै अध्यक्षको सहमतिमा यो कार्यक्रम तय गरिएको हो। जनयुद्ध दिवसमा प्रधानमन्त्री ओली पनि सहभागी हुने तय भएको छ,’ श्रेष्ठले डिसी नेपालसँग भने।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीककरण भएपछि फागुन १ लाई जनआन्दोलन र जनयुद्धमा सहिद भएकाहरूको स्मृतिका रूपमा लिन थालिएको हो।

पार्टी एकताको पहिलो वर्ष पार्टी कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रम आयोजना गरी नेकपाले जनयुद्ध दिवस मनाएको थियो। त्यतिबेला अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायत नेताहरू सहभागी भएनन्। पूर्वएमालेका अमृत बोहोरा, वामदेव गौतम, सुवास नेम्वाङ, महासचिव पौडेल भने कार्यक्रममा सहभागी भए। उक्त कार्यक्रममा पूर्वमाओवादी कार्यकर्ताको भने भीड नै लागेको थियो।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको थियो। तर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि जनयुद्ध दिवस मनाउने कि नमनाउने भन्ने विषय अन्योलमा थियो।

गत वर्ष पार्टी कार्यालयमा सोही अन्योलकै बीच दिवसलाई जनआन्दोलनका सहिद र जनयुद्धका सहिदको स्मृतिका रूपमा मनाइएको थियो। यसपालि पनि त्यसलाई निरन्तरता दिइएको हो।