शनिबार, बैशाख ०८, २०८१

चार हजार सुरक्षाकर्मी नै घरेलु कामदार

राष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सुरक्षाकर्मी हाकिम र नेताहरूको घरमा घरेलु कामदार बनाइएका छन् ।

राज्यको सुविधा पाउने सुरक्षाकर्मीलाई हाकिम र नेताले आफ्नो सुरक्षा मात्र होइन, घरका भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काममा लगाएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनामा करिब चार हजारको संख्यामा सुरक्षाकर्मी घरेलु कामदारको रूपमा खटिएका छन् । कतिपय सुरक्षाको नाममा त केहीलाई सहयोगीकै रूपमा यसरी दुरुपयोग हुँदै आएको छ ।

कार्यालय सहयोगी तथा पिपाका नाममा भर्ना भएका कर्मचारी मात्र होइन सिपाही, हवल्दार तथा असइसम्मका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट करिब १५–१५ सय उच्चपदस्थ व्यक्तिहरूको घरमा कार्यरत रहेको गृह मन्त्रालयको तथ्यांक छ । त्यस्तै नेपाली सेनाबाट करिब एक हजार कर्मचारी यसरी नेता तथा हाकिमका घरमा खटिएका छन् ।

उनीहरूलाई हटाउन पटक–पटक प्रयास हुँदा पनि गृह मन्त्रालय तथा सैनिक मुख्यालय सफल हुन सकेको छैन ।

नेपाल प्रहरीले सुरक्षा सेवा निर्देशनालयअन्तर्गत सुरक्षा समितिको बैठकअनुसार पिएसओ खटाउँछ । निर्देशनालयअन्तर्गत हाल करिब एक हजार प्रहरी खटिएका छन् । त्यसबाहेक पनि विभिन्न कार्यालयबाट करिब पाँच सय प्रहरी हाकिमहरूको घरमा खटिएको स्रोत बताउँछ ।

नेपाल प्रहरीमा पूर्वडिआइजीलाई एक तथा पूर्वएआइजीलाई दुईजना सहयोगीको सुविधा दिने निर्णय भएको छ ।

त्यस्तै, पूर्वआइजिपीले तीनजना पाउँछन् । एकातर्फ कानुनविना नै सामान्य निर्णय गरेर यसरी सुरक्षाकर्मीको दुरुपयोग हुँदै आएको छ भने अर्कोतर्फ तोकिएभन्दा धेरै उनीहरूले लगेका छन् ।

बहालवाला प्रहरी अधिकारीले अझै धेरै सुरक्षाकर्मीलाई घरको काममा लगाएका छन् । इन्चार्जका रूपमा काम गर्ने धेरै प्रहरीले आफ्नो घरमा प्रहरीलाई राखेका छन् । कर्मचारी प्रशासन, बजेट, सचिवालयजस्ता निकायका कार्यरत प्रहरीले समेत घरमा कामदार राखेका छन् ।

धेरै दुरुपयोग भएको भन्दै पछिल्लो डेढ वर्षमा करिब चार सय प्रहरीलाई फिर्ता गरिएको थियो । विगतमा दरबन्दी लगाएर विभिन्न नेताको घरमा खटाइएकालाई समेत फिर्ता गरिएको छैन । फिर्ता गर्दा नेताहरू रिसाउने र आफूहरूविरुद्ध लाग्न सक्ने ठानेर आईजिपी नै डराउने गरेको एक प्रहरी अधिकारी बताउँछन् ।

सशस्त्र प्रहरीमा अत्याधिक दुरुपयोग
घरेलु कामदार, चालक तथा अन्य सहयोगीका रुपमा प्रहरी दुरुपयोग सबैभन्दा धेरै सशस्त्र प्रहरी बलमा छ । पहिलेदेखि नै आईजिपीहरूले आफू निकट नेता मात्र होइन व्यापारीको घरमा समेत सहयोगी खटाउँदै आएका छन् । सशस्त्र प्रहरीका कतिपय कर्मचारी व्यापारीहरूको घरमा समेत कार्यरत छन् ।

सशस्त्र प्रहरीका एक अधिकारी भन्छन्, ‘अहिले पनि कतिपय व्यापारीहरूले सशस्त्र प्रहरीको चालक प्रयोग गर्दै आएका छन् ।’ प्रहरी महानिरीक्षकले नेताहरूलाई खुशी बनाएर आफ्नो पद टिकाउन समेत सुरक्षाकर्मीलाई घरेलु कामदारमा पठाउने गरिएको छ ।

सेनाका कर्णेलका घरमा समेत घरेलु कामदार
नेपाली सेनामा प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल) सम्मका अधिकारीले घरमा एक सहयोगीको सुविधा पाउँदै आएका थिए । मंसिरदेखि प्रमुख सेनानीले पाउने सुविधा हटाएर महासेनानी (कर्णेल) सम्मले मात्र पाउने निर्णय गरिएको छ ।

कर्णेलसम्मले पाउँदा पनि एक हजार भन्दा धेरै सैनिक हाकिमका घरमा कामदार बन्न बाध्य छ । विगतमा उच्च अधिकारीले धेरै सहयोगीको सुविधा पाउनेमा हालै कटौती गरिएको र यो सुविधा नै बन्द गर्नेबारे समेत छलफल भइरहेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।

अवकाशप्राप्त प्रधानसेनापतिले १० जना सहयोगी पाउने गरेका छन् । निधन भइसकेका प्रधानसेनापतिको घरमा समेत कतिपय सैनिक कार्यरत रहेको स्रोत बताउँछ ।

नेपाली सेनामा अवकाशप्राप्त रथीले पाँच, उपरथीले चार, सहायक रथीले तीन तथा महासेनानीले एक जना सहयोगीको सुविधा पाउँदै आएका छन् । गत बैशाख १७ गते बसेको सेनाको प्रिन्सिपल स्टाफ अफिसरको बैठकमा १÷१ संख्या कटौती र प्रमुख सेनानीलाई नदिने निर्णय भएको हो ।