बिहिबार, बैशाख ०६, २०८१

चीनबाट फागुन ३ मा नेपाली ल्याइने

कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा रहेका नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने जानकारी दिए ।

मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जानकारी दिए । उनले १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा कोरोना भाइरसको लक्षण नदेखिएमा मात्र घर जान दिने बताए ।

किन भयो ल्याउन ढिलाइ ?
नेपाल सरकारको एकल निर्णयले मात्रै चीनबाट नेपाली ल्याउन पाइँदैन । विश्व स्वास्थ्य संगठन (डब्लूूएचओ) को सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता दाहालले नेपालका लागि यसखालको उद्धार कार्य पहिलो अभ्यास भएको जानकारी दिँदै प्राविधिक, स्टेरिन समितिले काम गरिरहेको बताए ।

नेपालमा स्रोत र साधन पर्याप्त मात्रामा नरहेको हुनाले पनि ढिलाइ भएको स्पष्ट गरिएको छ । चीनमा कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।

त्यसलाई ध्यान दिई संक्रमण भित्रिनै नदिन नेपालमा छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

यसअघि बाहिर गएर आएका केही नेपाली सेना र प्रहरीलाई मात्र क्वारेन्टाइन व्यवस्था गरिएकोमा योपटक नागरिकलाई समेत पहिलोपटक क्वारेनटाइनमा राख्नुपर्ने भएकाले ढिलाइ भएको जनाइएको छ । क्वारेन्टाइन भएको स्थानमा खान, बस्न, बिजुली, शौचालय, इन्टरनेट लगायतका सुविधाको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

कस्ता व्यक्तिलाई राखिन्छ क्वारेनटाइनमा ?
चीनबाट लक्षण नदेखिएका नेपालीलाई मात्र नेपाल ल्याइन्छ । लक्षण देखिएका व्यक्तिलाई चीनमै आइसोलेसनमा राखेर उपचारको व्यवस्था गरिएको छ ।

लक्षण नदेखिएका व्यक्तिलाई नेपाल ल्याइने हुनाले छुट्टै क्वारेन्टाइनको व्यवस्था गरी दुई सातासम्म उनीहरूलाई निगरानीमा राख्नुपर्ने हुन्छ । नेपालको विमानस्थलमा अवतरण गरिसकेपछि पनि उनीहरूको स्वास्थ्य परीक्षण गरिन्छ ।

त्यो अवस्थामा लक्षण देखिएमा उनीहरूलाई सीधै आइसोलेसन भएका अस्पतालहरूमा लैजाने व्यवस्था गरिएको छ । चीनबाट ल्याइने विद्यार्थी र अन्य व्यक्तिहरूसंँगको सम्पर्क पूर्ण रूपमा बन्द गरिन्छ ।

यातायातको व्यवस्था
चीनबाट ल्याइने विद्यार्थीलाई विमानस्थलदेखि क्वारेन्टाइनसम्म लैजान यातायात साधनको व्यवस्था मिलाइसकिएको छ । एम्बुलेन्स चालकलाई उद्धारका क्रममा अपनाउनुपर्ने सचेतताका विषयमा प्रशिक्षणको काम सम्पन्न भइसकेको छ । यीबाहेक चिकित्सक, नर्सलाई समेत तालिमको व्यवस्था गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।