शनिबार, बैशाख ०८, २०८१

वाणिज्य बैंकले पनि सेयर ब्रोकरको काम गर्न पाउने

काठमाडौं। बाणिज्य बैंकले पनि सेयर ब्रोकरको काम गर्न पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली–२०६४ संसोधन गर्दै बाणिज्य बैंकलाई सेयर दलालको काम गर्ने बाटो खुल्ला गरेको हो।

नियमावलीमा ‘क’ बर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमति पत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था गरिएको छ।

यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत समेत बाणिज्य बैंकहरुले सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाललको काम गर्न सकिने व्यवस्था गरिएको थियो।
संशोधन भएको नियमावलीमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी एक अर्कामा प्राप्ति गर्न वा गाभ्न/गाभिन सक्ने, धितोपत्र दलालले मार्जिन कारोबार गर्न सक्ने तथा धितोपत्र व्यापारीले धितोपत्र दलाल, योग्य संस्थागत लगानीकर्ता र धितोपत्र प्रत्याभूतिकर्ताको कार्य गर्न सक्ने व्यवस्था समेत गरिएको छ।

नियमावलीमा धितोपत्र व्यापारीको न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ हुनुपर्ने र संस्थाको वित्तीय सवलताको लागि जगेडा कोषको व्यवस्था समेत गर्नुपर्ने बोर्डले जनाएको छ।

बोर्डले धितोपत्र दलाल नियावलीका अतिरिक्त धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली–२०६४, सामूहिक लगानी कोष नियमावली–२०६७ र धितोपत्र दर्ता तथा निष्काशन नियमावली–२०७३ समेत संशोधन गरेको हो।

बोर्डले सामुहिक लगानी कोष नियमावली संसोधन गरी बिमा तथा गैर बैंकिङ संस्थालाइ पनि सामुहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालन गर्न दिने व्यवस्था गरेको छ। यसैगरी कोषको रकम लगानी गर्ने सिमा र क्षेत्रको बारेमा पनि थप ब्याख्या गरेको छ।

यसैगरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली–२०७३ संशोधन गरी प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाका संचालक तथा शेयरधनी कालो सूचीमा नरहेको हुनु पर्ने तथा सार्वजनिक निष्काशनमा प्रविधिको प्रयोग भएसँगै धितोपत्र निष्काशन खुला रहने अधिकतम अवधि ३० दिनबाट घटाई १५ दिन कायम गरिएको बोर्डले जनाएको छ। संशोधन भएका व्यवस्थाहरु फागुन एक गते देखि लागू हुने बोर्डले जनाएको छ।