शुक्रबार, चैत १६, २०८०

कोरोनाभाइरसः ८ दिनमै तयार भयो हजार शय्याको अस्पताल

काठमाडौं। कोरोनाभाइरसबाट अहिलसम्म १८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यसको ९८ प्रतिशत संक्रमितहरु चीनमा मात्र छन् । यसका कारण अहिलेसम्म ३६२ जनाले ज्यान गुमाइसकेका छन् । बढिरहेका बिरामीलाई मध्यनजर गर्दै चीनले वुहान शहरमा ८ दिन पहिले १ हजार शय्याको विशेष अस्पताल बनाउन सुरु गरेको थियो जुन अस्पताल अहिले बनेर तयार भएको छ । यो अस्पतालका फोटोहरु विभिन्न मिडियाबाट सार्वजनिक भएका छन् ।

वुहानको होउशेनशानमा बनेको यो अस्पतालमा बिरामीको उपचार सुरु गरिएको छ । यो पूरै अस्पताल २ लाख ६९ हजार वर्ग फिट क्षेत्रमा बनेको छ । यसभित्र चीनको सेना पिपुल्स लिबरेशन आर्मीका १४०० डाक्टरले काम गरिरहेका छन् । यो नयाँ अस्पतालको नेतृत्व चीनको सेनाले गर्नेछ । यो अस्पतालको डिजाइन २००३ मा सार्ससँग लड्नको लागि बेइजिङमा बनाइएको अस्पतालको जस्तै छ । यो अस्पताल बनाउनको लागि चीनले देशभरीका इन्जिनियरलाई वुहान बोलाएको थियो । यो अस्पतालमा औषधी, उपकरण, मास्क आदि आवश्यकताका सामान सिधै फ्याक्ट्रीबाट मगाउन सकिनेछ । चीन रकारले अस्पताल व्यवस्थापनलाई आवश्इकताका सामान सिधै मगाउने अधिकार दिएको छ ।

यो अस्पतालको नाम ‘फायर गड माउन्टेन’ राखिएको छ । यसको कमाण्ड चिनियाँ सेनासँग छ । सबैभन्दा राम्रो कुरा यो अस्पतालमा कार्यरत डाक्टरहरुमध्ये ६० प्रतिशत ती डाक्टरहरु छन् जो २००३ मा सार्सविरुद्धको अभियानमा कार्यरत थिए । वुहानमा यसअघि नै २ अस्थायी चिकित्सा केन्द्र बनाइएका छन् जहाँ दैनिक हजारौं बिरामी पुगिरहेका छन् । वुहान शहर अहिले पूर्ण रुपमा बन्द छ । सडक खाली छन् । कार्यालय, कलेज स्कुल सबै बन्द छन् । कोरोनाभाइरसबाट सबैभन्दा धेरै संक्रमित यही शहरमा छन् ।

वुहानको जनसंख्या १ करोड १० लाख छ । भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै संक्रमित यही शहरमा छन् । यहाँ बनेको अर्को अस्पतालको नाम थण्डर गड माउन्टेन हो जुन अस्पताल यही फेब्रुअरी ६ (आगामी बिहीबार)देखि संचालनमा आउनेछ । यो १६०० शय्याको हुनेछ । कोरोनाभाइरसबाट अहिलेसम्म २५ देशका मानिहरु संक्रमित भएका छन् । मेडिकल जर्नल ल्यान्सेटका अनुसार वुहानमा मात्रै ७५ हजार ८ सय यसबाट संक्रमित हुन सक्छन् ।