शुक्रबार, चैत १६, २०८०

राष्ट्रियसभा बैठकः कोरना भाइरसबारे सचेतना अपनाउन माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यले आधारभूत स्वास्थ्य उपचार सेवा पाउने संवैधानिक हकको कार्यान्वयन हुनुपर्ने र कोरनाजस्ता भाइरसबाट बच्न सरकारले सचेतना अपनाउनुपर्नेमा जोड दिए ।

बैठकको शून्य समयमा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार संविधानको मौलक हकमा व्यवस्था भए पनि जनताले निःशुल्क भनिएका औषधि सहजै पाउन नसकेको गुनासो गरे ।

उनले भने, “स्वास्थ्य र शिक्षा सहज हुनुपर्नेमा निजी र सरकारी विद्यालयका नाममा विभेद छ ।” काङ्ग्रेसकै रमेशजङ्ग रायमाझीले कोरना भाइसर रोक्न सरकारले चासो दिनुपर्ने बताए ।

नेकपाकी डा। विमला राई पौडेलले ग्यासको हिटरले भारतीय पर्यटनको मृत्युजस्ता समस्यालाई गम्भीरतापूर्वक लिई जनताको जीउधनको सुरक्षामा ध्यान दिन माग गरे ।

नेकपाका युटोल तामाङले मन्त्रिपरिषद्मा महिलाको सङ्ख्या घटाइएकामा चिन्ता प्रकट गरे । राजपाका वृषेशचन्द्र लालले सीमा र राष्ट्रिय सुरक्षाबारे सरकार गम्भीर हुनुपर्ने बताए ।

नेकपाकी मीना बुढाले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अङ्ग्रेजी विषय शिक्षक अभाव भएकामा चिन्ता प्रकट गरे ।

समाजवादी फोरमकी प्रमिला कुमारीले नागरिकता विधेयक छिटो ल्याउन माग गरे । नेकपाका शेरबहादुर कुँवरले सुदुरपश्चिमा रहेको छाउपडी प्रथा अन्त्य गराउन आग्रह गरे ।