शुक्रबार, बैशाख ०७, २०८१

भलिबल संघ जापानका अध्यक्ष नवीन गुरुङले क्लब च्याम्पियनसिप भलिबलको लागि २ लाख पुरस्कार सहयोग

टोकियो । नेपाल जापान भलिबल संघका अध्यक्ष नवीन गुरुङले पाँचौं आरबिबी एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको प्रथम पुरस्कार राशी प्रायोजन गरेका छन् ।

जापानमा रहेर पनि लामो समयदेखि नेपालको भलिबलमा सहयोग पुर्याउँदै आएका भलिबल संघका अध्यक्ष गुरुङले पुरुषतर्फको पहिलो पुरस्कार २ लाख रुपैयाँ संस्थागत रूपमा प्रदान गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

नेपालको भलिबल संघको विकास र विस्तारमा सहयोग पुगोस् भन्ने उद्देश्का साथ विभिन्न देशमा गठन भइरहेका सम्पर्क समितिलाई मान्यता दिदै आएको छ ।

संघका महासचिव चन्दले भने ,’देश वा विदेश जहाँ रहेपनि भलिबल विकासका लागि सहयोग पुर्याउने सबैलाई हामी स्वागत गर्न चाहन्छौं । कुनै पनि खेलको विकास एक्लै सम्भव छैन । सबैको सहयोग आवश्यक पर्दछ । विदेशमा रहने नेपालीबाट हामीले लामो समयदेखि यस्तै सहयोग पाइरहेका छौं ।

संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शुक्रबार सुरु हुने क्लब च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् । दुवैतर्फका विजेता टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

शुक्रवार पहिलो दिन पुरुषतर्फ २ खेल र महिलातर्फ १ खेल हुने संघले जनाएको छ ।