बिहिबार, बैशाख १३, २०८१

कृषि उत्पादन समृद्धिको आधार : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि उत्पादन समृद्धिको आधार भएको बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय व्यावसायिक च्याउ उत्पादक कृषि सञ्जालद्वारा शुक्रबार पोखरामा आयोजित च्याउखेतीको अवसर तथा चुनौती विषयक सरोकारवालाबीच अन्तक्र्रिया एवं च्याउ परिकार महोत्सवमा उनले कृषि क्षेत्र सरकारको पहिलो प्राथमिकता रहेको बताए।

कम लगानीमा बढी उत्पादन गर्न आधुनिक प्रविधि प्रयोग गरेर व्यावसायिक कृषिमा लाग्न कृषकलाई आग्रह गर्दै मन्त्री थापाले आवश्यक प्रविधि सहयोग, भण्डारण र बजारीकरणमा सरकारको सहयोग रहने बताए ।

प्रदेशसभा सदस्य दीपक कोइरालाले कृषि क्षेत्रलाई तीनै तहका सरकारले प्राथमिकतामा राखेर उत्पादनमा समेत वृद्धि हुँदै गएको वर्तमान अवस्थामा उन्नत जातको बीउ र बजारको व्यवस्था राज्यबाट हुनुपर्ने बताए ।

कार्यक्रममा पूर्वमन्त्री केशवलाल श्रेष्ठले नेपालमा च्याउखेती र यसको भविष्य विषयक कार्यपत्र प्रस्तुत गर्दै मुलुकका ४२ जिल्लामा व्यावसायिक च्याउखेती हुँदै आएको जानकारी दिए ।

च्याउ सेवनले दीर्घजीवन दिने बताउँदै उनले यसको विकास र विस्तारका लागि सहकरीस्तरबाट पहल गरिनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा च्याउ विशेषज्ञ टीकाराम अर्यालले मुलुकको समृद्धिका लागि व्यावसायिक च्याउखेती आवश्यक रहेको बताउँदै दैनिक च्याउ सेवनले क्यान्सर, मुटुरोग, मिर्गौला, सुगरलगायत विभिन्न रोगसँग जुध्ने शक्ति प्रदान गर्ने बताए ।

महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका कृषकद्वारा उत्पादित विभिन्न जातका च्याउको मम, सुप, अचार, सेकुवा, पकौडा, कुकिज, सुकुटीलगायत परिकारको आकर्षण रहेको थियो।