शुक्रबार, बैशाख ०७, २०८१

रक्तचन्दन भारत फिर्ता गर्ने सरकारको निर्णय, २४ घण्टा सुरक्षा दिन करोडौं खर्च

सरकारले विभिन्न समयमा नियन्त्रणमा लिइएको रक्तचन्दन भारत फिर्ता लैजान स्वीकृति दिएको छ ।

गत २८ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको बाटो हुँदै अन्य मुलुकमा तस्करी गर्ने क्रममा बरामद गरिएको रक्तचन्दन भारत फिर्ता लैजाने निर्णय गरेको हो ।

रक्तचन्दन काठ जे–जस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट भारत फिर्ता लैजान स्वीकृति दिइएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

साइटिस सन्धिको आर्टिकल ८ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा २ र ३ अनुसार संकटापन्न वन्यजन्तु तथा वनस्पति जहाँ बरामद गरिए पनि उत्पत्ति भएको मुलुकलाई फिर्ता दिनुपर्ने व्यवस्था छ ।

सोहीबमोजिम नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतका सम्बन्धित अधिकारीलाई सो रक्तचन्दन लैजान स्वीकृति दिएको मन्त्री बाँस्कोटाले बताए ।

अवैध तरिकाले भित्रिएका रक्तचन्दन समातिएपछि सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने प्रावधान भए पनि लामो समयदेखि नेपालमा बरामद भएका रक्तचन्दन भारतले फिर्ता नलगेपछि त्यसको सुरक्षा र व्यवस्थापनमा करोडौं खर्च भइरहेको छ ।

सरकारले पटक–पटक ताकेता गरे पनि भारतले फिर्ता लगेका छैनन् । भारतको आन्द्रप्रदेश, महाराष्ट्र तथा कर्नाटक राज्यमा पाइने भए पनि नेपालको बाटो हुँदै अवैध कारोबार हुने रक्तचन्दत वन विभाग र अन्य जिल्लामा सुरक्षा दिएर राखिएको छ ।

नेपालमा हालसम्म २ लाख ४७ हजार ४८ किलोग्राम रक्तचन्दन समातिएकामा अहिले १ लाख ७३ हजार १७ किलो रक्तचन्दन अझै नेपालमै छ । पक्राउ परेकोमध्ये ३६ हजार ९ सय २८ किलो भारतले जिम्मा लिएको र बाँकी १९ हजार ३ सय २४ किलो हराएको विभागले जनाएको छ ।

नेपालका चितवन, सर्लाही, झापा, नवलपरासी, ताप्लेजुङ, कपिलवस्तु, सप्तरी, गोरखा र काठमाडौंलगायत २० जिल्लाबाट रक्तचन्दन बरामद भएको थियो ।

यसको माग तिब्बतमा बढी भएको भन्दै पूर्वी नाकाबाट बढी चोरीनिकासी हुँदै आएको छ । यसको तस्करीमा ठूला गिरोह संलग्न रहेको प्रहरीको दाबी छ ।

नेपाल सरकारले नेपालमा रहेको १ लाख ७३ हजार केजी रक्तचन्दन ९० दिनभित्र भारत फिर्ता लैजान स्वीकृति दिएको हो । चीनमा रक्तचन्दनको मूल्य प्रतिकिलो १६ हजार रुपैयाँसम्म पर्ने जानकारको दाबी छ ।

त्यहाँ रक्तचन्दन विभिन्न फर्निचर, क्रिम तथा म्युजिक सामान बनाउन प्रयोग गरिन्छ । रक्तचन्दन साइटिसको अनुसूची–२ मा सूचीकृत छ । अनुसूची–२ मा सूचीकृत भएकाले यसको व्यापार तथा व्यवसाय गर्न नपाइने व्यवस्था छ ।

अभिसन्धिमा नेपालले पनि हस्ताक्षर गरेकाले त्यसको कारोबारलाई अवैध मानिन्छ । विगत १३ वर्षयता प्रहरीले रक्तचन्दन बरामद गर्दैै नियन्त्रण गरी सुरक्षा दिएर राखेको छ ।

नेपालमा ६० को दशकमा रक्तचन्दनबाट अकुत सम्पत्ति कमाएका केही विवादास्पद व्यापारीले दिल्लीबाट पानीजहाजमार्फत रक्तचन्दन तस्करी गर्न थालेको विभिन्न अनुसन्धानले देखाएका छन् ।

तातोपानी नाकाबाट रक्तचन्दन तस्करीमा कडाइ भएपछि रसुवाबाट तस्करी हुने गरेको पाइएको थियो । रसुवाबाट रक्तचन्दन तस्करी गर्दा सेनाका कर्णेल रामजी कटवालको कोर्टमार्सल भई जागिर नै गएको थियो ।

नेपाल प्रहरीका तत्कालीन डीएसपी ओमबहादुर रानालाई भने कुनै कारबाही भएन । नेपालमा कडाइ भएपछि रक्तचन्दन चीन जाने क्रम कम भएको थियो ।
राजधानी दैनिकमा खबर छ ।