शुक्रबार, बैशाख ०७, २०८१

२० लाख अमेरिकीलाई नेपाल घुमाउने लक्ष्य

वाशिङ्टन डिसी, अमेरिका । अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीले सन् २०२० भरिमा २० लाख अमेरिकी पर्यटकहरुलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने लक्ष्य राखिएको बताएका छन्।

भिजिट नेपाल इयर—२०२० को औपचारिक शुरुवातका लागि डिसीस्थित राजदुत निवासमा जनवरी ७ तारिकमा आयोजित एक समारोहमा राजदूत कार्कीले सो लक्ष्य पूरा गर्न सबैको सहयोगको अपेक्षा गरेको बताएका थिए।

नेपालप्रति चासो राख्ने अमेरिकी नागरिकहरु र संघसंस्थाका प्रतिनिधिहरु समेत सहभागी रहेको सो कार्यक्रममा राजदुत कार्कीले भारत र चीनपछि नेपाल घुम्न जाने विदेशी पर्यटकहरुमा अमेरिका तेस्रो ठूलो मुलुक रहेको जानकारी दिएका थिए।

कार्यक्रममा नेपालमा पाइने एकसिंहे गैंडा, पाटे बाघ लागयतका जंगली जनावरहरु तथा सगरमाथा लगायतका हिम श्रृंखलाहरुबारे तथा विश्वसम्पदा सूचिमा रहेका नेपालका प्राचीन सम्पदाहरु तथा नेपालको भौगोलिक विधिता समेटिएका भिडियोहरु देखाइएको थियो।