शुक्रबार, बैशाख ०७, २०८१

नेपाली अधिकारीलाई भारतमा भ्रष्टाचारविरुद्ध प्रशिक्षण

काठमाडौं । नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ अधिकारीको दोस्रो ब्याचको भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा प्रशिक्षण शुरु भएको छ । छ दिनसम्म चल्ने ‘ठगी, घुसखोरी र भ्रष्टाचार निवारण’ विषयक प्रशिक्षण आजदेखि शुरु भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

यसअघि आयोगकै २१ अधिकारीको पहिलो ब्याचले सोही युनिभरसिटीमा गत मङ्सिर ३० गतेदेखि यही पुस ५ गतेसम्म त्यही विषयमा प्रशिक्षण लिइसकेका छन् । सङ्कायका अनुभवी सदस्यबाट सञ्चालित सो प्रशिक्षण नेपाली अधिकारीका लागि अत्यन्तै फलदायी रहेकोे दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नयाँ तथा उपयोगी विचारसहित अनुसन्धान कार्यलाई अघि बढाउन सो प्रशिक्षणले नेपाली अधिकारीलाई सक्षम बनाउने अपेक्षा गरिएको छ । नेपाल सरकारको आग्रहमा आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपालमा भ्रष्टाचारका गतिविधिमा अङ्कुश लगाउन एवं सुशासन कायम राख्न यो कोर्षले आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्नेछ ।

मुख्यतः भ्रष्टाचारका कारकको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिमा यो कोर्ष केन्द्रित छ । सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कोर्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधि सिक्नलाई मद्दत गर्नेछ । अन्ततः यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिको पहिचान, निवारण एवं कानूनी कारवाही गर्न अधिकारीलाई सक्षम बनाउने दूतावासले जनाएको छ ।

फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रमअन्तर्गत रहेको छ ।