शुक्रबार, चैत १६, २०८०

पूर्वएमालेसँग नझुक्न प्रचण्डलाई दबाब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को दबाब दिएका छन् ।

पूर्वमाओवादी समूहका नेताहरुले प्रचण्ड निवास खुमलटारमै पुगेर दबाब दिएका हुन् ।

प्रचण्डले आफ्नै समूहबाट आएको दबाब थेग्न नसकेर नेकपाका अर्का अध्यक्ष केपी ओलीसँग सभामुखको विषय टुंगो लगाउन सकेका छैनन् ।

प्रचण्ड निवासमा पूर्वमाओवादी समूहले मंसिर ३० गतेदेखि नै छलफल गरिरहेका छन् ।

प्रचण्ड निवासमा सभामुखका विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले स्वीकार गरेका छन् ।

‘हामीले दुवै पृष्ठभूमिबाट आएका साथीहरुलाई मिलाएर लैजान अध्यक्षलाई सुझाव दिएका छौं। सभामुखको विषय टुंगिएको छैन’, पौडेलले भने ।

सभामुख चयनको विषयलाई लिएर नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच होडबाजी नै चलेको छ ।

एक वर्षपछि स्थायी कमिटी बैठक चलिरहँदा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड निवासमा सोही विषयमा छलफल भएको थियो ।

प्रचण्डले सभामुख पद कार्यकारी अध्यक्षसँग साटेको हल्लापछि पूर्वमाओवादी नेताहरुले उनलाई निरन्तर खबरदारी गरिरहेको स्रोतले जनायो ।

‘जनआन्दोलन र जनयुद्धका समान पक्षलाई समेट्न हाम्रो प्रयास जारी छ । प्रधानमन्त्री पद केपी ओलीलाई पाँच वर्षका लागि छाडेको हो भन्दैमा अन्य पदमा पनि एकलौटी गर्न दिइँदैन । त्यसका लागि हामीले खुमलटारमा निरन्तर छलफल गरिरहेका छौं’, पूर्वमाओवादी सम्बद्ध स्रोतले भन्यो ।

स्रोतका अनुसार पूर्वमाओवादी समूहबाट अग्नि सापकोटालाई सभामुख बनाउने प्रयास जारी रहेको छ। नागरिक दैनिकमा खबर छ ।