शुक्रबार, बैशाख ०७, २०८१

प्रधानमन्त्रीलाई प्रश्नः हामीजस्ता विद्यार्थी राजनीतिमा लाग्न हुन्छ कि हुन्न ?

प्रधानमन्त्रीज्यू, हामीजस्ता विद्यार्थी राजनीतिमा लाग्न हुन्छ कि हुँदैन ? तपाईंले कहिल्यै कल्पना गर्नुभएको थियो प्रधानमन्त्री हुन्छु भनेर ? प्रधानमन्त्री बन्ने इच्छा हुने युवालाई कस्तो सुझाव दिनुहुन्छ ? सानो उमेरमै बालबालिकाले किन भविष्यको निर्णय लिन्छन् ?

सानोमा तपाईको स्वभाव कस्तो थियो ? तपाईंको प्रेरणाको स्रोत को हो ? तपाईलाई नराम्रो सपनाले सताएको छ कि छैन ? हजुरको जस्तो अथाहा ज्ञान भएको मान्छे हामी कसरी हुन सक्छौं ? बालबालिकाका लागि के–कस्तो कार्यक्रम लागू गरिएको छ ?

अंग्रेजी नयाँ वर्षको अवसरमा ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा उपस्थित बालबालिकाले यस्ता प्रश्न सोधेका थिए। विद्यार्थीले सोधेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले उत्तर दिँदै भने, ‘बालबालिकाको यो उमेर जिज्ञासु उमेर हो, मलाई पनि बच्चामा यस्ता थुप्रै प्रश्न सोध्ने कौतुहलता जागिरहन्थ्यो।’

नेपाल स्काउटले विद्यालय उमेर समूहका स्काउटर बालबालिकाले यस्ता प्रश्न सोधिरहँदा उत्साहित भएर उत्तर दिनुभएका प्रधानमन्त्री ओलीले जीवनमा उल्लेखनीय काम गरे अवश्य पनि सबैको भविष्य राम्रो हुने बताए ।

विद्यार्थीले सोधेका प्रश्नको उत्तर दिने क्रममा उनले बालबालिकाहरू यो उमेरमा राजनीतिमा लाग्नुहुँदैन तर मुलुकको मूल राजनीति भएकाले राजनीतिको बारेमा जानकारी लिनुपर्ने बताए ।

उनले भने, ‘तिमीहरू यो उमेरमा राजनीतिमा लागे न भोट खसाल्न पाउँछौ न त कुनै पनि निकायमा प्रतिनिधि भएर निर्वाचनमा उठ्न पाउँछौ। त्यसैले म त यो भन्न चाहन्छु कि तिमीहरू अहिल्यै राजनीतिमा नलाग तर राजनीतिको बारे जानकार होऊ।’

प्रमको प्रश्नको उत्तर सुनेर विद्यार्थीहरू दङ्ग भएका थिए। अर्को प्रश्नको उत्तर दिने क्रममा उहाँले आफू पनि विद्यालय तह सकेपछि मात्रै राजनीतिमा लागेको बताए ।

‘म देशको परिवर्तनका लागि आन्दोलनमा लागेको थिएँ। मरिन्छ कि बाँचिन्छ भन्ने ठेगानै थिएन, तर परिवर्तनका लागि लागेपछि एक दिन अवश्य पनि देशको प्रधानमन्त्री भएँ।

तर अहिले पनि मलाई प्रधानमन्त्रीमै टिक्छु र टिकिरहन्छु भन्ने छैन। तिमीहरू पनि मेहेनत गरेर काम गर, तिमीहरू नै देशको राजनीति गर्ने व्यक्ति हुन्छौ’ –प्रम ओलीको भनाइ थियो। प्रम बन्ने इच्छा भएका युवालाई कस्तो सुझाव दिन्छन्, भन्ने प्रश्नमा उनको उत्तर थियो– ‘जे उद्देश्य राखिन्छ, ठूलो उद्देश्य राख्नुपर्छ, प्रधानमन्त्री मात्रै होइन राष्ट्रपतिसमेत हुन सकिन्छ।’

उपत्यकाका करिब सरकारी निजी गरी करिब ५० विद्यालयका ८ सय विद्यार्थी रहेको प्रत्यक्ष साक्षात्कार कार्यक्रममा उनले नयाँ वर्षको भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकालाई शुभकामना दिँदा बेग्लै आनन्द आउने धारणा राखे । नेपाल समाचारपत्र