शनिबार, बैशाख ०८, २०८१

सशस्त्र प्रहरीले खेलाडीलाई पुरस्कार दिने निर्णय गर्न किन सकेन ?

काठमाडौं । सशस्त्र प्रहरी बल हेडक्वार्टर गएको साफ खेलमा स्वर्ण, रजत र कास्य पदक विजेता शसस्त्र प्रहरीहरुलाई कस्तो प्रोत्साहन दिने भन्ने कुरामा अनिर्णिंत बनेको छ । साफ खेलकुदमा सशस्त्र प्रहरीका २८ जना खेलाडीहरुले स्वर्णपदक ल्याएका थिए।

विगतमा प्रति खेलाडी स्वर्णपदक रु १ लाख, रजत ५० हजार र कास्य पदकका लागि २५ हजार प्रोत्साहन रकम दिने गरिएकोमा यसपटक सोही दरले भत्ता दिदा धेरै रकमको हिसाव आउने भएपछि सशस्त्र प्रहरी मुख्यालयमा पुस ११ गते बसेको परामर्श समितिको बैठकले प्रोत्साहन रकम कति दिने वा नदिने भन्नेबारे निर्णय गर्न सकेन। सशस्त्र प्रहरीको कल्याणकारी कोषबाट यस्तो रकम दिइँदै आएकोमा यसबर्ष सो कोषमा पर्याप्त रकम जम्मा हुन नसकेको जानकारी बैठकमा दिइएको थियो।

सशस्त्र प्रहरी बलका सूचना शाखा प्रमुख प्रहरी नायव उपरीक्षक अजय छत्कुलीले खाग खेलकुदमा पदक जित्ने खेलाडीलाई प्राेत्साहन गरिने बताए। ‘सशस्त्र प्रहरी बलमा राम्राे काम गर्नेलाई पुरस्कार र खराब काम गर्नेलाई दण्डित गर्ने प्रचलन छ’, उनले भने, ‘सागमा पदक जित्ने सबै खेलाडीलाई स‌ंगठनले पुरस्कृत गर्छ ‘

संयुक्त राष्ट्र संघका विभिन्न शान्ति मिशनहरुमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुबाट निश्चित प्रतिशत रकम सो कोषमा जम्मा गरिँदै आएको छ। त्यसैगरी त्यस्ता मिसनहरुमा प्रयोग हुने हातहतियार तथा सवारी साधानहरु र अन्य बन्दोबस्तीका सामानहरुको शोधभर्नावापत रकम राष्ट्र संघले दिन रकम कोषमा जम्मा हुने गरेको छ। तर, विगत केही समयदेखि राष्ट्र संघबाट आउनु पर्ने रकम आइनसकेको जानकारी बैठकमा दिइएको थियो।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आर्थिक परिस्थितिको जानकारी दिँदै कस्तो प्रोत्साहन उपयुक्त हुन्छ भन्नेबारे छलफल गर्न भनेपनि सहभागी उच्च पदस्थ अधिकृतहरुले महानिरीक्षकको मुड विचार गरी विगतमा झै १ लाख, ५० हजार र २५ हजारका दरले प्रोत्साहन रकम दिन मुस्किल पर्ने विचार राखेका थिए । स्रोतका अनुसार, बैठक अनिर्णित भएपछि यसबारे थप गृह कार्य गरेर उचित सुझाव पेश गर्न महानिरीक्षक खनालले एआईजी पुष्पराम केसीलाई जिम्मेबारी दिएका छन् ।

आईजीपी आक्रोशित

यसैबीच, पुस ८ गते परामर्श समितिको बैठक बोलाएर उच्च पदस्थहरुलाई मुख्यालयमै अल्मल्याई दिनभरजसो सशस्त्र प्रहरीका डीआईजीहरुको म्याद १ बर्ष थप गर्ने दौडमा निस्किएको कुरा समाचारमा आएपछि महानिरीक्षक खनालले ११ गतेको बैठकमा आक्रोश पोखेका थिए । उनले समाचार दिँदै हिड्ने को को हुन् भन्ने एक एक रेकर्ड आफूसँग भएको भन्दै संगठनलाई विवादमा पर्नेलाई कारवाही गर्ने चेतावनी दिएका थिए ।

तर, उनले त्यसरी समाचार दिँदै हिड्ने को हो भन्ने कुरा भने बैठकमा बताउन सकेनन्। सशस्त्रका प्रबक्ता सुरज श्रेष्ठसहित ३ जना डिआईजीहरुले आज सोमबारको मन्त्रिपरिषद्को बैठकबाट अन्यथा निर्णय नभए यसै सप्ताहअन्त्यदेखि अनिवार्य अवकाश पाउँदै छन्।

भविष्यमा संगठनको नेतृत्व गर्ने कोही नभएको भन्दै श्रेष्ठसहित ३ जनाको १ बर्षे अवधि थप गर्ने नेतृत्व लागेपछि स्वाभाविक बढुवा प्रक्रियामा रहेका अन्य सशस्त्र प्रहरी अधिकृतहरु बृत्ति विकास र नेतृत्व विकासमा अवरोध पुर्‍याउन खोजेको भन्दै म्याद थपको निर्णय हुन नदिने दौडमा लागेका छन्।