शुक्रबार, बैशाख ११, २०८३

पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढे कांग्रेस सभापति देउवा

ललितपुर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिक पुग्दै लाग्दा देउवा एक्लैले पार्टीमा महत्वपूर्ण निर्णय लिएका हुन्।

केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभाग संख्या ४७ पु¥याउने, चौधौं महाधिवेशन २०७७ फागुनमा गर्ने, तरुण दलको म्याद ६ महिना थप्ने लगायत विभिन्न नौ वटा निर्णय गरेको छ। बैठक वरिष्ठ नेता पौडल, महामन्त्री शशांक कोइराला र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेका थिए।

केन्द्रीय कार्यसमितिको म्याद २०७७ फागुन १९ सम्मका लागि थपिएको छ। देउवाको यस्तो कदमले कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने भएको छ। वरिष्ठ नेता पौडेलले जे भइरहेको छ त्यो ठिक नभएको बताए। उनले आगामी दिनमा कसरी अघि बढ्नेबारे शनिबार बैठक गरेर रणनीति तय गर्ने जानकारी दिए। पौडेलले सहमति नजिक पुग्नै लाग्दा सभापतिले लिएको निर्णयले दलमा थप समस्या निम्त्याउने बताए।

‘हामी छलफल गरेर निर्णयमा पुग्छौं। यो राम्रो कदम होइन,’ उनले भने, ‘छलफल निकै सकारात्मक रूपमा भइरहेको थियो। सभापति एक्कासि यस्तो निर्णयमा किन पुग्नुभयो ? यसमा हामी बैठक बसेर निर्णय लिनेछौं।’

असन्तुष्ट समूहसँग सहमतिका लागि दुई सातादेखि जारी छलफल सार्थक नभएपछि शुक्रबार केन्द्रीय समिति बैठक बसेको थियो। ‘यो दुर्भाग्यपूर्ण अवस्था हो, पार्टीभित्र अझै सहमति कायम गरेर निर्णय गर्नुपर्नेमा सभापतिले बहुमतबाट अगाडि बढ्ने प्रयास गर्नुभयो, यसले राम्रो सन्देश दिँदैन,’ कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘उहाँले पेलेरै अगाडि जान खोजेको संकेत गर्छ। पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने दायित्व सभापतिको हो। तर उहाँ चुक्नुभएको छ।’
उनले महाधिवेशन कार्यतालिका सार्वजनिक गरिए पनि यसका प्राविधिक विषयलाई बेवास्ता गरिएको दाबी गरे। ‘पुरानो क्रियाशील सदस्यताको कुनै जानकारी छैन। क्रियाशील सदस्यताको नयाँ वितरण र छानबिन निष्पक्ष ढंगले होस् भन्ने हो,’ उनले भने, ‘महाधिवेशनकै मितिमा पनि सल्लाह गर्न सकिन्थ्यो।’

पार्टी मुख्यालय सानेपामा दिउँसो एक बजे बोलाइएको केन्द्रीय समिति बैठक साँझ पाँच बजेपछि मात्र सुरु भएको थियो। पौडेल समूहले सहमतिमा जोड दिँदै केही दिन बैठक स्थगन गर्न सभापति देउवालाई आग्रह गरेको थियो। शुक्रबार बिहान पौडेल समूहद्वारा गठित कार्यदल सदस्यले सभापति देउवालाई भेटेर केन्द्रीय समिति बैठक स्थगन गर्न आग्रह गरेका थिए।

सानेपामा केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा असन्तुष्ट समूहको बैठक बसेको थियो। सभापति देउवाले केन्द्रीय समिति बैठक स्थगन नगर्ने जानकारी पाएपछि पौडेल समूहले आफ्ना मागको सम्बोधन नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेको थियो। महाधिवेशन कार्यतालिका सार्वजनिक, विभाग संख्या बढाउने, तरुण दलको समयावधि थप र नेपाल विद्यार्थी संघ गठनका विषयमा प्याकेजमै सहमति हुनुपर्ने माग पौडेल समूहको थियो।

सभापति देउवाले पौडेल समूहको मागको बेवास्ता गर्दै बहुमतबाट नेविसंघबाहेक सबै विषयमा निर्णय गरेका छन्। विभाग संख्या २८ बाट बढाएर ४१ बनाउने प्रस्ताव केन्द्रीय समितिमा पेस भएकोमा बैठकले ४७ पु¥याएइको छ।