मंसिर ७ गते मर्निङ वाकमा निस्किएका सिभिल हस्पिटलका वरिष्ठ चिकित्सक प्रभु जोशीलाई काठमाडौं बानेश्वर क्षेत्रमा बसले ठक्कर दियो। झिसमिसेमै उनलाई ठक्कर दिएर बस भाग्यो।
ठक्कर दिएर भागेको बस खोज्न उज्यालो भएपछि आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी दिए। प्रहरीले जोशीलाई ठक्कर दिएर बेपत्ता भएका भक्तपुर सूर्यविनायकका चालक बुद्धिकुमार कोजूलाई तीन दिनपछि रामेछापबाट बा३ख ६१४ नम्बरको बससहित नियन्त्रणमा लियो।
कात्तिक १२ गते काठमाडौंकै तीनकुनेमा जेब्राक्रसबाट सडक पार गरिरहेका कोटेश्वरका सुजन केसीलाई ट्रकले ठक्कर दियो। ठक्कर दिएर गम्भीर घाइते भएका उनको केएमसी हस्पिटल सिनामंगलमा लैजाँदै गर्दा मृत्यु भयो। एकाबिहानै बाटो काट्दै गर्दा उनलाई ठक्कर दिएको सवारीसाधन भने बेपत्ता भयो। प्रहरीले हालसम्म केसीलाई ठक्कर दिएको उक्त सवारीसाधन पत्ता लगाउन सकेको छैन ।
–यही पुस ८ गते बिहान ५ः४५ बजे गुर्जुधारा चोकमा ट्रकले चन्द्रागिरिका अर्जुनबहादुर केसीलाई ठक्कर दियो। ठक्करबाट प्रदेश ३–०२–००९प ७६२९ नम्बरको मोटरसाइकल चालक केसीको घटनास्थलमै ज्यान गयो ।
उनी बिहान छोरालाई कलंकीस्थित एलआरआई स्कुलमा पु¥याउन जाँदै थिए। उनलाई ठक्कर दिने सवारीसाधन पनि बेपत्ता भयोे। ठक्कर दिएर भागेको ना८ख ३४२४ नम्बरको ट्रक दुई दिनपछि ललितपुरको चापागाउँमा फेला प¥यो। प्रहरीले चालक रविन पौडेल र ट्रकलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ। नागरिक दैनिकमा खबर छ।

