बिहिबार, बैशाख ०६, २०८१

ट्राफिक उज्यालो अभियान : पुस महिनाको ८ दिनमा पन्ध्रहजार कारवाहीमा

काठमाडौं । प्रहरीले ट्राफिक नियम उल्लङ्घन विरूद्ध चलाएको विशेष कार्यक्रम ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पुस महिनाको ८ दिनमा मात्रै १५ हजार बढीलाई कारवाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी दिँदै सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न शुरु उक्त अभियानका क्रममा यसरी सवारी चालकलाई कारवाही गरिएको हो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सडक प्रयोगकर्तामा ट्राफिक नियमसम्बन्धी जिम्मेवारी बोध गराउने र कानून कार्यान्वयनका लागि विशेष कारवाही अभियान सञ्चालन हुनेगरी यही पुसबाट उक्त अभियान थालिएको थियो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढालले अभियानका क्रममा पुसको पहिलो हप्तामा मात्रै उपत्यकामा १५ हजार ४ सय ४४ सवारी चालक कारवाहीमा परेको बताए ।

अभियानका क्रममा ढोका खुल्ला राखेर चलाउने १ हजार २२, सडकमा सवारी तथा पैदलयात्रीलाई आवतजावतमा अवरोध हुनेगरी पार्किङ गर्ने ९ सय ५०, हर्न बजाउने ५ सय, मापसे गरी सवारी चलाउने ७ सय ९०, लेन अनुशासन पालना नगर्ने ७ सय ९९, जथाभावी पिक एण्ड ड्रप गर्ने ६ सय ७०, एकतर्फी सडकमा गाडी चलाउने १ सय ८९, जथाभावी सवारी मोड्ने २ सय २९, बढी भाडा लिने २ सय ४४ चालक कारवाहीमा परेका छन् ।

यस्तै क्षमताभन्दा बढी यात्रु बोक्ने २८, सिसी टिभी हेरेर ५ सय २९, जेब्रा क्रसिङमा सवारी नरोक्ने २ सय ९५, सवारी साधनको अवस्था ठिक नबनाई गाडी चलाउने ५ सय ७० चालकलाईसमेत कारवाही गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार जरिवाना गराइने जनाइएको छ । महाशाखाले मङ्सिर महिनामा ५३ हजार १ सय ९३ सवारी चालकलाई कारवाही गरेको जनाएको छ ।