मङ्गलबार, बैशाख ०४, २०८१

आज सार्वजनिक विदा छैन : गृह मन्त्रालय

काठमाडौं । आज सूर्य ग्रहणका दिन सार्वजनिक विदा नहुने गृह मन्त्रालयले जनाएको छ।

यसअघिका सूर्य ग्रहणमा सार्वजनिक विदा दिने गरिएको भएपनि यस पटक विदा दिने निर्णय नभएको गृह मन्त्रालयका सह–सचिव तथा प्रवक्ता केदारनाथ शर्माले डिसी नेपाललाई बताए ।

बिहीबार बिहान डिसीनेपालसँग कुरा गर्दै प्रवक्ता शर्माले भने, “सामाजिक सञ्जाल र कतिपय मिडियामा सार्वजनिक विदा भनेर आएका सूचनाहरु गलत हुन्, आज सूर्य ग्रहणका दिन सरकारले सार्वजनिक विदा दिने कुनै निर्णय गरेको छैन।”

बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि ११ बजेर ३३ मिनेटसम्म करिब तीन घन्टा सूर्यग्रहण लाग्दै छ।

खण्डग्रास सूर्य ग्रहणलाई मध्यनजर गर्दै गृहमन्त्रालयले बिहीबार सार्वजनिक विदा दिने तयारी गरेको थियो। बिहीबार सार्वजनिक विदा दिने प्रस्ताव गृहसचिव प्रेमकुमार राईकहाँ पुगेको थियो। डिसी नेपालले सोही सूचनाका आधारमा बुधबार देशैभरी सार्वजनिक विदा भनेर समाचार सम्प्रेषण पनि गरेको थियो।

हामीलाई गृहमन्त्रालय स्रोतले दिएको जानकारीका आधारमा समाचार तयार पारेका थियौं। बुधबार अपरान्ह चार बजेसम्म पनि गृहमन्त्रालयले बिहीबार सार्वजनिक विदा दिने बताइरहेको थियो। तर अन्तिम अवस्थामा फेरि गृहमन्त्रालयले सार्वजनिक विदा दिएन। यसबाट हाम्रा पाठकमा पर्न गएको असुविधाप्रति हामी क्षमा चाहन्छौं।