संघीय राजधानी काठमाडौं र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको कान्ति लोकपथको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ ।
कुल लम्बाइ ७९ किलोमिटरमध्ये अहिलेसम्म ४५ किलोमिटर कालोपत्रे भइसकेको र चालू आर्थिक वर्षभित्र थप २९ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको कान्ति लोकपथ सडक योजनाले जनाएको छ ।
सो सडक योजनाका अनुसार बाँकी रहेको पाँच किलोमिटरको कालोपत्रे तथा ‘रिटेनिङ वाल’ निर्माण लगायतका काम अर्को आर्थिक वर्षमा गरिने छ ।
आगामी आर्थिक वर्षमा कालोपत्रे गर्ने भनिएका पाँच किलोमिटरमध्ये अधिकांश ठाउँ भूगर्भिक दृष्टिकोणले अति नै कमजोर र पहिरोग्रस्त क्षेत्र रहेको हुनाले कालोपत्रे गर्न त्यति सहज नरहेको उनले स्पष्ट पारे । यस वर्षको वर्षायाममा यस सडकको ३० ठाउँमा पहिरो गएको थियो ।
सो सडक योजनाका अनुसार ललितपुरको तीनपाने, नयाँ गाउँ, झाँक्रीडाँडा, हुपेली काल्चेभीर,। तामाखानीमा र मकवानपुरको प्रतापडाँडा, ढिङ्गान, मकवानपुरगढीमा प्रत्येक दुई/तीन सय मिटरमा पहिरो गएको थियो ।
कान्ति लोकपथ सडक योजनाका प्रमुख विनोद सापकोटाले कुल ७९ किलोमिटरमध्ये अहिलेसम्म ४५ किलोमिटर कालोपत्रे भइसकेको र चालू आर्थिक वर्षभित्र थप २९ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको बताउँदै आगामी आर्थिक वर्षभित्र कालोपत्रे गर्नेसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरिने जानकारी दिए ।
काठमाडौँतिर यस सडकको जिरो किलोमिटर टीकाभैरव र हेटौँडातिर यसको जिरो किलोमिटर हेटौंडाको बुद्धचोक रहेको छ ।
ललितपुरको टीकाभैरवदेखि हेटौँडाको बुद्धचोकसम्म यस सडकको कुल लम्बाइ ७९ किलोमिटर रहेको छ । सामान्य अवस्थामा यस सडकको चौडाइ दुई लेनको रहे पनि भौगोलिक रूपले साँघुरो भएको ठाउँमा यसको चौडाइ ‘इन्टरमिडियट साइज’को अर्थात् ‘डबल लेन’ र ‘सिङ्गल लेन’को बीचमा रहने जानकारी कान्ति लोकपथ सडक योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले दिए ।
सडकको कुल ७९ किलोमिटरमा मकवानपुरतर्फको ५१ किलोमिटरमध्ये ३० किलोमिटर कालोपत्रे भइसकेको जानकारी उनले दिए । जिरो किलोमिटरदेखि ३० किलोमिटरसम्म कालोपत्रे गरिएको हो ।
त्यसैगरी ललितपुरतर्फ विभिन्न खण्डमा १५ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको उनले बताए । चालू आर्थिक वर्षमा ललितपुरमा बाँकी रहेका दुई किलोमिटर सडकको चौडा गर्ने कामसमेत सम्पन्न गर्ने जानकारीसमेत उनले दिए । अबको तीन महिनाभित्र सो सडकको चौडा गर्ने कार्य सम्पन्न हुने योजनाको दाबी छ । गोरखापत्र दैनिकमा खबर छ ।

