बिहिबार, बैशाख १३, २०८१

जिप दुर्घटनामा पाँच घाइते

बागलुङ- बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लु१च ७७१८ नंको पिकअप जिप बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो । खर्वाङबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा वडा नं ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन् ।

घाइतेमध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर रहेको र घाइतेको खर्वाङमा सामान्य उपचारपछि पाल्पास्थित मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । गुडिरहेको जिपको अचानक टायर खुस्किँदा सडकबाट झण्डै २०० मिटर तल खसेको छ ।