शुक्रबार, बैशाख १४, २०८१

भारतमा थप ४ जनालाई मृत्युदण्डको सजाय, फैसलापछि अदालतबाट हाँस्दै निस्के अभियुक्त

जयपुर। निर्भया हत्याकाण्डमा चार अभियुक्तहरुलाई फाँसी दिने चर्चाका बीच भारतमा अन्य ४ जना अभियुक्तलाई पनि फाँसीको सजाय सुनाइएको छ । राजस्थानको जयपुर शहरको परकोटा क्षेत्रमा १३ मे २००८ मा लगातार भएका ८ बम विष्फोटको आरोप लागेका ४ जना अभियुक्तलाई विशेष अदालतले शुक्रबार आतंकवादी र घटनाका दोषी ठहर गर्दै फाँसीको सजाय सुनाएको हो । फैसलापछि चारैजना अभियुक्तहरु अदालतबाट हाँस्दै बाहिर निस्किएको दैनिक भास्करले लेखेको छ । उनीहरुलाई अदालतमा सजाय सुनाइँदै गर्दा पनि उनीहरु हाँसिरहेका थिए ।

यसअघि बिहीबार उनीहरुको सजायको विषयमा बहस भएको थियो । सरकारी वकिलले यसलाई दुर्लभ अपराध भन्दै अभियुक्तहरु मोहम्मद सैफ, सरवर आजमी, सैफुर रहमान र मोहम्मद सलमानलाई फाँसी दिइनुपर्ने माग गरेका थिए । साढे ११ वर्ष पहिले भएको विष्फोटमा ७१ जनाको ज्यान गएको थियो । १८५ जना घाइते भएका थिए । यसअघि घटनाको अभियोगमा पक्राउ परेका ५ जनामध्ये १ शहबाजलाई बुधबार अदालतले सन्देहको लाभ दिँदै रिहा गरेको थियो । बाँकी ४ जनालाई ८ ठाउँमा बम विष्फोट गराएको दोषी ठहर गरेको थियो । १३ मे २००८ मा परकोटेमा ८ ठाउँमा लगातार बम विष्फोट भएको थियो ।

विशेष अदालतका विशेष न्यायाधीश अजय कुमार शर्मा ४ बजेर ५ किनेटमा आफ्नो च्याम्बरमा आए । ४ बजेर १० मिनेटमा चारैजना अभियुक्तलाई अदालतमा उपस्थित गराइयो । ४ बजेर १५ मिनेटमा न्यायाधीशले फैसला पढ्न सुरु गरे । १५ मिनेटभित्र उनले चारै जना अभियुक्तविरुद्ध सजाय सुनाए । अदालतले विष्फोटको लागि इण्डियन मुजाहिद्दीनलाई जिम्मेवार मानेको थियो । बाटला मुठभेडमा मारिएका २ अभियुक्तलाई पनि अदालतले दोषी ठहर गरेको छ । आतिफ अमिनलाई विष्फोटकोमुख्य योजनाकार ठहर गरियो । अदालतले विष्फोटको पछाडि जेहादी मानसिकता भएको ठहर गरेको छ ।