शुक्रबार, बैशाख १४, २०८१

कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न सक्दैन : नेता गौतम

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने बताएका छन्।

अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य संप्रभुता र जलवायु न्याय संबन्धि बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवस्यक रहेको बताएका हुन्।

उनले भूमिको चक्लाबन्दी सरकारले किसानलाई चलनचल्तीको मूल्य तिरेर गर्नुपर्ने समेत बताए। उनले चक्लाबन्दी नगरे कृषिमा अन्य मुलुकहरुसँग प्रतिस्प्रधा गर्न नसकिने समेत बताए।

त्यस्तै नेता गौतमले कृषिमा यान्त्रीकरण, व्यवसायीकरण तथा डिजिटल उत्पादन नगरे कृषि उत्पादन बढ्न नसक्ने र त्यसका लागि कृषि भूमिको चक्लाबन्दी आवस्यक रहेको बताए।

उनले खाद्य संप्रभुतालाई संविधानमा उल्लेख गरिएको भएपनि त्यसको कार्यान्वयनमा कानून निर्माण गरी अगाडी बढ्नुपर्ने बताए। त्यस्तै जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनिकरण गर्न वन क्षेत्रको संरक्षण आवश्यक रहेको बताए।

जलवायु परिवर्तनको समस्या समाधानका लागि औद्योगिक क्षेत्रमा उर्जाको प्रयोग गर्नुपर्ने र सरकारले त्यसका लागि आवस्यक व्यवस्था गरिरहेको बताए। त्यस्तै उनले जलवायु परिवर्तनका लागि असर पार्ने खालका गतिविधि गर्ने मुल्कहरुसँग क्षतिपूर्ति माग्नुपर्ने र क्षतिपूर्ति लिंदै गर्दा औद्योगिकरणमा जाँदैनौं भन्न नहुने समेत बताए।