शुक्रबार, चैत १६, २०८०

आफैंले तयार गरेको चितामा आफै जल्नुपर्दा

सोमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो । अर्कोतर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर थियो । जहाँ सिनेकर्मीदेखि शुभेच्छुकसम्म यी दुई अभिनेताको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइरहेका थिए ।

वरिष्ठ अभिनेता केशव भट्टराईले अभिनेता दीपक क्षत्रीको श्रद्धाञ्जली सभा बोर्डको प्रांगणमा गर्ने निर्णय आइतबार मात्र गरेका थिए । ‘दीपक दाइको पूर्ण सम्मानसाथ आर्यघाटको एक नम्बर चिता सजाएर अन्त्येष्टि गरिनुपर्छ’ भन्दै बोर्ड अध्यक्ष भट्टराईले आइतबार दिउँसो मात्र बजेट पास गरेका थिए । चिता बनाउनेदेखि सम्पूर्ण तयारीका लागि उनले जिम्मा दिएका थिए ।

दीपक क्षत्रीका लागि उनले तय गरेको स्थानमा सोमबार भट्टराईकै श्रद्धाञ्जली सभा आयोजना गरियो । अर्को दुःखद संयोग के भने दीपक क्षत्रीका लागि भनेर सजाइएको आर्यघाटको १ नम्बरको चितामा सोमबार बेलुका भट्टराईकै पार्थिव शरीर जलाइयो । अभिनेता क्षत्रीको पनि भट्टराईसँगै २ नम्बर चितामा राष्ट्रिय सम्मानसाथ दाहसंस्कार गरियो ।

अभिनेता क्षत्रीको श्रद्धाञ्जली र अन्त्येष्टि सम्मानपूवर्क गर्ने तयारीको जिम्मा बोर्डका कर्मचारीलाई दिएका अभिनेता भट्टराई आफैं सो श्रद्धाञ्जली र अन्त्येष्टिमा मलामीका रूपमा सहभागी हुनेवाला थिए । तर, दुर्भाग्य अभिनेता क्षत्रीको चितासँगै भट्टराईको चिता पनि सोमबार बेलुका जल्यो । जुन कुरा भट्टराईले कल्पनासमेत गरेका थिएनन् ।

भट्टराईको आइतबार बेलुका हृदयघातका कारण ५१ वर्षको उमेरमा निधन भयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँग बैठक सकेर बोर्ड सदस्य नरेन्द्र महर्जनको कीर्तिपुरस्थित घरमा उनी बेलुका ७ बजे पुगेका थिए ।

महर्जनका बुबाको ६ महिनाको पुण्यतिथिको प्रसाद खाएर घर फर्केका उनी घर पुग्दा गाडीमै बेहोस भएका थिए । १४ वर्षीय छोरा बेडु र चालकले भट्टराईलाई चावहिलको ओम अस्पताल पु¥याउँदा उनको निधन भइसकेको थियो । बेलुका सवा १० बजे अस्पतालले उनको निधन भएको पुष्टि ग¥यो ।

भट्टराईले डेढ दशकदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । आइतबार राति उनको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखेर सोमबार दिउँसो १ बजे अस्पतालबाट अन्तिम दर्शनका लागि बोर्डमा ल्याइएको हो ।

काठमाडौंको डिल्लीबजारस्थित कोठामा शनिबार दिउँसो मृत्य भेटिएका ५८ वर्षीय अभिनेता क्षत्रीको हृदयघातबाट निधन भएको पोस्टमार्टमबाट पुष्टि भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोर्डमा पुगेर सरकारका तर्फबाट दुवै अभिनेताप्रति श्रद्धाञ्जली अर्पण गरे ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले चलचित्र विकास बोर्ड अध्यक्ष भट्टराईसँगै वरिष्ठ अभिनेता क्षत्रीप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यस्तै, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलगायत विभिन्न चलचित्रकर्मीसँगै शुभचिन्तकले अभिनेता भट्टराई र क्षत्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे ।

नेकपाका केन्द्रीय सदस्य खगेन्द्र राईले बोर्डका अध्यक्ष एवं जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्यसमेत रहेका भट्टराईलाई नेकपाको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । दागबत्ती दिने क्रममा नेपाल प्रहरीले सरकारका तर्फबाट सलामीसहित राष्ट्रिय सम्मान अर्पण गरे ।

त्यस्तै, जनसांस्कृतिक महासंघका सहसंयोजक सरल सहयात्रीले भट्टराईको पार्थिव शरीरमा महासंघको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

दिवंगत भट्टराईका एक छोरा बिडु भट्टराई र श्रीमती नीता भट्टराई छन् । वरिष्ठ अभिनेता क्षत्रीको परिवारमा श्रीमती विपना थापा (कलाकार), छोरी रिस्ता थापा (नायिका) र छोरा छन् ।

अभिनेता भट्टराई र क्षत्री दुवैले २०४५ को दशकबाट अभिनय यात्रा सुरु गरेका हुन् ।राजधानी दैनिकमा खबर छ ।