काठमाडौं । शुक्रबार बिहानैदेखि मौसममा बदलाब आएको थियो । कालिञ्चोकमा हिउँ फुसफुसाउन थाल्यो । काठमाडौं मूलपानीका अनिलमणि गजुरेल दम्पतीलाई यो एउटा रोमाञ्चक संयोग थियो ।
कालिञ्चोक कुरीमा भेटिएका अनिलमणिले भने, ‘कालिञ्चोक आइपुग्दा अलौकिक आनन्द मिल्यो, जीवनमै पहिलोपटक हिमपातमा रमाउन पाउँदा थकाइ र चिसो सबै भुलेको छु ।’
अप्सरा दंगाल गजुरेलले पनि कालिञ्चोक आइपुग्दा चारैतिर हिउँ देखेर साह्रै आनन्द लागेको बताइन् ।
‘पहिलोपटक हिउँसँग खेल्न पाएको छु, जीवनमा योभन्दा खुसी अरू केही हुँदैन जस्तो भएको छ,’ अप्सराले भनिन् ।
भक्तपुरका सहदेव लामिछानेले पनि जीवनमा पहिलोपटक हिउँसँग खेल्ने मौका पाएका छन् ।
‘यति धेरै हिउँ परेको पहिलोपटक देख्दा साह्रै खुसी लागेको छ, कालिञ्चोक त सुन्दर ठाउँ रहेछ,’ सहदेवले भने ।
३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको दोलखाको कालिञ्चोकमा शुक्रबार र शनिबार हिमपात भएपछि अहिले हिउँसँग खेल्दै हिमाल र रोमाञ्चक पहाडको दृश्यावलोकन गर्न तथा कालिञ्चोक भगवतीको दर्शन गर्न सयौंको संख्यामा पर्यटक कालिञ्चोक पुग्ने गरेका छन् ।
यो वर्ष पहिलोपटक शुक्रबार बिहानदेखि रातभरि भारी हिमपात भएपछि कालिञ्चोकमा पर्यटकको चाप बढेको कुरीस्थित सुनपाती होटलका सञ्चालक हरि ओलीले बताए ।
काठमाडौंबाट चरिकोटसम्मको सडक बिग्रिएकाले केही महिनादेखि पर्यटक आवागमनमा मन्दी भएको तर शुक्रबारबाट हिमपातसँगै पर्यटकको संख्यामा समेत वृद्धि भएको कालिञ्चोक कुरीको होटल कन्ट्रिभिल्लाका सञ्चालक नवीन खड्काले बताए ।
कालिञ्चोकको प्रस्थान विन्दु कुरीमा ३ हजार ५ सय पर्यटक अट्न सक्ने क्षमताको ४० भन्दा बढी होटल छन् ।
कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुवै हिसाबले निकै महत्वपूर्ण मानिन्छ ।
कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो । किम्बदन्तीअनुसार जलकुण्डबाट दाहिनेतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ ।

