शनिबार, बैशाख ०८, २०८१

नेपालमा बैंक ह्याकरहरुको जालो नै सक्रिय, विदेशबाटै चलाउँछन् नेटवर्क

काठमाडौं । नेपालमा बैंक ह्याकमा विदेशी नागरिकको जालो नै सक्रिय रहेको पाइएको छ ।

सन् २०१० मा नेपाल आएका ‘काले’ भनिने नाइजेरियन नागरिक पिटर हेर्मनसहितका विदेशी नागरिकले नेपाली नागरिकलाई एजेन्ट बनाएर बैंक ह्याकमा विदेशबाटै नेटवर्क सञ्चालन गरिरहेको तथ्य प्रहरीले फेला पारेको छ ।

केही समयअघि केही निजी बैंक ह्याक गरेका ह्याकरले सरकारी बैंकलाई समेत निशानामा पारेपछि बैंक ह्याकिङ प्रकरणमा विदेशी नागरिकको जालो सक्रिय रहेको प्रहरीले फेला पारेको हो ।

बैंक ह्याक प्रकरणमा पिटरसँगै बेलायती नागरिक स्मिथ मोरिस र उनीहरूको समूहमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरी अनुसन्धान देखाउँछ ।

अपराध अनुसन्धान महाशाखाले कृषि विकास बैंकको सिस्टम ह्याक गरेर १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ रकम लुट्ने विदेशी ह्याकरका तीनजना नेपाली एजेन्टलाई मंगलबार पक्राउ गरेको थियो ।

उनीहरूलाई बुधबार सार्वजनिक समेत गरिएको छ ।

महाशखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार विदेशी ह्याकरको समूहले नेपालस्थित विभिन्न ४० जनाभन्दा धेरै व्यक्तिलाई एजेन्टका रूपमा प्रयोग गरेर सामाजिक सञ्जाल प्रयोग गर्दै बैंक ह्याकका लागि प्रयोग गर्दै आइरहेका छन् ।राजधानी दैनिकमा खबर छ ।