वाशिंगटन डिसी। गैरनेपालीहरुको साझा संस्था एनआरएन अमेरिकाले डिसेम्बर ७ मा अमेरिकी शहर बाल्टिमोर एनआरएन एनसीसीको अमेरिका सम्मेलन आयोजना गर्यो। गत कार्तिकमा नेपालमा एनआरएनको विश्वसम्मेलनमा अमेरिकाको तर्फबाट विजयी हुने आईसीसी सदस्यहरुको सम्मानमा आयोजित सो कार्यक्रममा रातपरेपछि भने नेताहरुबीच कुटाकुट पुग्यो।
घटनाले यस्तो मोड लियो कि हानाहानमा सहभागी हुनेलाई कोठाबाट तान्दै निकालिएको थियो। अमेरिकाबासी नेपालीहरुको साझा आवाज बन्नुपर्ने एनआरएन अमेरिकाका नेताहरुको मध्यरातको चर्तिकलाको खबरले डिसी मेट्रो एरियाबासी घटनाका जानकार नेपालीहरु भने दुखी भएका छन्।
प्राप्त घटना विवरणअनुसार, अमेरिकाका विभिन्न राज्यबाट आएका एनआरएनका नेताहरुले दिनभरजसो आफ्ना तर्फबाट विजयीहरुलाई सम्मान गर्दै कार्यक्रम सफलताको कामना गरेका थिए तर जव रात पर्या त्यसपछि परिस्थिति अर्कै देखियो।
औपचारिक सम्मान कार्यक्रम सकेपछि बाल्टिमोर शहरको हाईवे ६९५ नजिकैको डबल ट्री हिल्टन होटलमा दोहोरी र अन्य नेपाली गीतहरुमा नाचगान पनि गरेका थिए। तर, यत्तिलेमात्रै सम्मेलन सकिएन। नाचगान सकेपछि एनआरएनएका अध्यक्ष सुनील साहसहित नेताहरुको टोली फेरि अर्को जमघटतिर लाग्यो।
सोही होटलमा बुक गरिएको उपाध्यक्ष कृष्णजीवी पन्तको कक्षतिर त्यो जमघट शुरु भएको थियो। दिउँसै देखिको कार्यक्रममा एनआरएनले नेपालको सीमा मिचिएकोबारे भारतीय दूतावासलाई मात्र किन विरोधपत्र दिने, नक्सांकन गर्ने तत्कालीन भारतमा राज गरेको बेलायती दूतावासलाई किन ध्यानाकर्षण पत्र दिँदै प्रदर्शन नगर्ने भन्ने विषय चलिनै रहेको थियो।
दोहोरीको रन्को सकिएपछि हात हातमा ग्लासहितको अर्को जमघटमा पनि यो विषय सकिएको थिएन। कुराकानी चल्दै गर्दा अकस्मात् ठूलो आवाजमा अपशब्दसहित झगडा शुरु भयो। सहभागीमध्ये कतिपयले कता के भयो भनेर खोज्दा खोज्दै उपाध्यक्ष मेरिल्याण्ड निवासी जेदु पोख्रेल र अर्का उपाध्यक्ष न्यूयोर्क निवासी बाबुराम लामाबीच भनाभनले उग्ररुप लिइसकेको थियो।
हात हालाहातसमेत भएपछि नशाको माहौल पनि भद्रगोल बन्न पुग्यो। झगडियाहरुलाई छुट्याउने नाममा भएको ठेलमठेलमा अध्यक्ष साहको कोटमा समेत रक्सीको ग्लास पोखिएको थियो। एकैछिनमा अवस्था तनावग्रस्त भएपछि अध्यक्ष साह सो कक्ष छोडेर बाहिरिएका थिए भने उपाध्यक्षमध्येका जेदु पोख्रेललाई जातीय अपशब्द बोल्दै अर्का उपाध्यक्षको अपमान गरेको आरोप लगाइएको थियो। त्यसपछि राति नै उबर बोलाएर केहीलाई घर पठाइएको थियो।
सो घटनाबारे प्रतिक्रिया दिंदै प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले पदाधिकारीहरुले नै कुल्लीको जस्तो स्तरम झरेर झगडा गरेपछि अमेरिकाबासी नेपालीले के आशा गर्ने भन्ने प्रश्न उठेको बताए। एनआरएन शीर्ष नेताहरुको यो हर्कतबारे प्रतिक्रिया माग्दा उपाध्यक्ष पन्तले घटनालाई सामान्यरुपमा लिन
आग्रह गरे।
उनले डिसी नेपालसँग भने,‘सबैजना रमाइलो माहौलमा थियौं, केही साथीहरुले अलि ठूलो स्वरमा तर्क गरेका हुन्, कुनै त्यस्तो ठूलो लफडा भएको होइन।’ अर्का उपाध्यक्ष बाबुराम लामाले एकअर्कामा धाराण राख्दा केही तलमाथि भएको बताए। उनले भने,‘साथीभाइ रमाइलो गरेर बसेका थियौं, हामीले एक अर्कामा धारणा राख्दा केही तलमाथि भएको हो मलाई कसैले व्यक्तिगतरुपमा आक्रमण गरेको छैन।’
अर्का उपाध्यक्ष जेदु पोख्रेलले भने मेरो लोकप्रियता र सदासयताको फाइदा लिएर गलत प्रचार गर्नेलाई कसैलाई पनि नछोड्ने बताए। उनले भने,‘मैंले कसैसँग माफी मागेको छैन। माफी मागेको कुरा सत्य होइन।’ दिउँसो कार्यक्रमा अमेरिका क्षेत्रबाट निर्वाचित आईसीसी सचिव गौरी जोशी टेक्सास, महिला उपाध्यक्ष रबीना थापा र आरसी राजन श्रेष्ठलाई खादा ओडाएर सम्मान गरिएको थियो।

