मङ्गलबार, बैशाख ०४, २०८१

तेह्रौँ सागः ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ। भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ।

आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ।

नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ।

यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ।

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो।

पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन्।

यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन्।