शनिबार, बैशाख ०८, २०८१

भाेलि चक्रपथभित्रका सडकमा जोर नम्बरका सवारी मात्रै चलाउन पाइने

१३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको समापनका दिन मंगलबार ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।

उद्घाटनका दिन बिजोर नम्बरका सवारी मात्रै सञ्चालन गरिएकाले समापनका दिन रिङरोड भित्रका सडकमा जोर नम्बरका सवारी मात्रै चलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

यसका साथै ठूला मालवाकह सवारी साधन रिङरोडभित्रको सडकमा प्रवेश नगराउन पनि उसले आग्रह गरेको छ ।

दशरथ रंगशालामा समापनको कार्यक्रम हुने भएकाले सकभर त्यसआसपासको सडक प्रयोग नगर्न पनि ट्राफिक प्रहरी महाशाखाले सबैमा अनुरोध गरेको छ ।

समापनका दिन सकेसम्म सवारी साधन नै ननिकाल्न र निकाल्नै पर्ने भए वैकल्पिक मार्गको प्रयोग गर्न पनि उसले सुझाव दिएको छ ।

समापनका बेला रंगशालामा हुने कार्यक्रम हेर्न आउने सर्वसाधारणको सवारी टुंडिखेलमा पार्किङ गरेर राख्नु पर्ने व्यवस्था मिलाइएको छ ।