बिहिबार, बैशाख ०६, २०८१

प्रदेश नं २ का मन्त्रालय क्षेत्रभित्र प्लाष्टिक प्रयोग निषेध

धनुषा । प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय क्षेत्रभित्र प्लाष्टिकको झोला तथा ब्यागको प्रयोग निषेध गरिएको छ ।

सचिवस्तरीय निर्णयबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले हाल मधेश भवन नामाङ्कन गरिएको उक्त क्षेत्रमा प्लाष्टिकजन्य झोला, ब्याग, ग्लास र प्लेटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्लाष्टिकको प्रयोगले वातावरण र सौन्दर्यतामा नकारात्मक प्रभाव पार्ने भएकाले यसको प्रयोगमा प्रतिबन्ध लगाइएको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

जनकपुर चुरोट कारखाना परिसरमा मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुख कार्यालय, पाँच वटा अन्य मन्त्रालय, नीति आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालयका अतिरिक्त, मन्त्रीहरुको आवाससहित अन्य अधिकारीको आवास क्षेत्र रहेको छ । प्लाष्टिकको प्रयोगले शहरको सौन्दर्य बिगार्ने, दुर्गन्ध बढाउने, नकुहिने र यसले वातावरण तथा कृषि उत्पादनमा पनि नकारात्मक असर पार्ने गरेकोले मन्त्रालयले यस्तो निर्णय लिएको हो ।

नेपालभर वर्षमा ५६ लाख प्लाष्टिकको फोहर उत्पादन गर्ने कामकाज भए पनि यसको सङ्कलन तथा प्रशोधन कमै हुने गरेका कारणले अत्यधिक मात्रामा वातावरणमा असर पारिरहेको छ भने यसले मानवको स्वास्थ्यमा पनि नकारात्मक असर गर्दै आएको छ ।