शुक्रबार, बैशाख ११, २०८३

देउवा भेट्न प्रचण्ड पुगे बुढानिलकण्ठ, देउवाले दिए बधाई

काठमाडौंं :कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको कार्यकारी अध्यक्ष भएकोमा पुष्पकमल दाहाललाई बधाई दिएका छन्।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको पन्ध्रौं दिन बिहीबार दाहाल प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए।‘दाहाल कार्यकारी अध्यक्ष भएपछि सभापतिसँग एक्लै भेटेको पहिलो पटक हो,’ भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, ‘उहाँहरूबीच शिष्टाचार भेट भयो, सामान्य कुराकानी भयो।’ भेटमा देउवाले दाहालसँग प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका थिए। दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जानकारी देउवालाई गराएका थिए।

भेटमा दाहालले आफूले पार्टीमा कार्यकारी अध्यक्षको हैसियत पाएको र सबै राजनीतिक दलसँग मिलेर अघि बढ्ने बताएका थिए। राष्ट्रिय हितका विषयमा सबै दल एक हुनुपर्ने भन्दै सघाउनसमेत आग्रह गरेका थिए ।

भेटमा देउवाले राष्ट्रहितका विपक्षमा आफू कहिल्यै नजाने तर सरकारले पनि विपक्षीलाई पेल्न नहुनेमा जोड दिएका थिए। केही समयअघि भारतीय पक्षबाट अतिक्रमणका परेको पश्चिम नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबारे दाहाल र देउवाबीच सार्वजनिक कार्यक्रममै जुहारी चलेको थियो । संवैधानिक आयोगहरूमा पदपूर्तिका लागि सरकारले ल्याउन लागेको अध्यादेशबारे पनि कांग्रेस असन्तुष्ट छ। कान्तिपुर दैनिकमा खबर छ।