आइतबार, साउन ३१, २०८३

१५औँ महाधिवेशनसम्म देउवाकै निर्देशनमा पार्टी गतिविधि सञ्चालन गर्ने राष्ट्रिय भेलाको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलाले पाँचबुदे निर्णय गरेको छ । आइतबार समापन भएको भेलाले पार्टीको १५औँ महाधिवेशन १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा सम्पन्न गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय भेलाले पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा नै १५औँ महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरेको छ । १५औँ महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले संयोजन गर्दै अघि बढाउने निर्णयसमेत गरिएको छ ।

भेलाले मुलुकको वर्तमान अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरेर राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सक्रिय रहने जनाएको छ । २०३३ सालमा महामानव बीपी कोइरालाले राष्ट्रिय संकटलाई ध्यानमा राख्दै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग उल्लेख गर्दै अहिले पनि मुलुक अप्ठ्यारो अवस्थामा रहेकाले संवाद र सहकार्य आवश्यक रहेको निष्कर्ष सम्मेलनले निकालेको छ ।

त्यस्तै, नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता पनि सम्मेलनले जनाएको छ । धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै हिन्दू, बौद्ध, किरात र प्रकृतिसहितका परम्परागत धर्म–संस्कृतिको संरक्षणमा जोड दिने निर्णय गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया