सोमबार, बैशाख ०७, २०८३

नेपाल एयरलाइन्सले जापानको नारिता उडान अनुमति पायो

जापान । नेपाल वायुसेवा (नेपाल निगमले जापानको राजधानी टोकियो नजिकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको अनुमति पाएको छ ।

यो गन्तव्यमा उडान सञ्चालनका लागि निगमले भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) सेवा पाएको छ ।

ग्राउण्ड ह्याण्डलिङको अनुमति पाएसँगै निगमको नारिता उडान निश्चित भएको सह–प्रवक्ता सुलेख मिश्रले जानकारी दिए । निगमले नारिता उडान गर्न ग्राउण्ड ह्याण्डलिङ, इन्धन र स्लट सेवाको सहमति गरेको छ । नारितामा उडान गर्ने योजना बनाएको निगमले ग्राउण्ड ह्याण्डिलिङ सेवा नपाउँदा नारिता उड्ने योजना अनिश्चित बनेको थियो ।

निगमले अहिले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) अन्तर्गतकै ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरिएको जनाएको छ । धेरै व्यस्तताका कारण निगमलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिन असमर्थता जनाएको उक्त संस्थाले नेपालस्थित जापानी दूतावासको समन्वय तथा जापानस्थित नेपाली दूतावासको सक्रियतामा यो सेवा दिन सहमत भएको सह–प्रवक्ता मिश्रले बताए ।

उनले निगम र जेक्याबबीच हालै भएको सम्झौताले निगमले तोकेकै समयमा नारिता उडान गर्ने बताए । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए ३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गरिसकेको छ । नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख गरेको छ ।

गएको भदौ १२ देखि जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान सुरु गरेको थियो तर यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको थियो ।

निगमले ओसाका गन्तव्यमा सातामा दुई दिन उडान भर्दै आएको छ ।