काठमाडौं । एक दशकअघिसम्म नेपाल भित्रिने अधिकांश गाडीमा क्यासेट प्लेयर वा एफएम मात्र हुने गर्थ्याे ।
गाडीमा प्रयोग हुने टेक्नोलोजी रेडियो र म्युजिक प्लेयर हुन्थे । तर, अहिले गाडीमा स्मार्ट ड्यासबोर्ड प्रयोग हुन थालेको छ, गाडी चलाउँदा चलाउँदै मेसेज आयो भने पनि ब्लुटुथमार्फत मोबाइल कनेक्ट गरी अटोमेटिक मेसेज पढ्ने प्रविधि अब नयाँ रहेन ।
गाडीमा जीपीएस जडान गरी गुगल म्याप हेर्दै गन्तव्यमा पुग्न सकिने भएपछि बाटो बिराउने समस्याको अन्त्य भएको छ ।
जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) व्यक्ति, पशु र मोटरसाइकलको सुरक्षाका लागि पनि प्रयोग गरिन्छ । जीपीएसको प्रयोगले सामान चोरी, लुटपाट र अपहरण हुँदा कहाँ छ भन्ने थाहा पाउन सेट गरेको मोबाइलमा सूचना आउने गर्छ ।
साथै, यसमार्फत अन्य सवारीसाधनसँग आफ्नो गाडी कति दूरीमा छ भन्ने पनि पत्ता लगाउन सकिन्छ । यस्तै, यो प्रविधिले चोर्न आउने व्यक्तिले कुदाउन नमिल्ने गरी सवारीसाधन बन्द गराउन मिल्छ ।
गाडीमा अहिले ब्लुटुथका साथै वाईफाई, म्युजिक प्लेयर, भिडियो प्लेयरसमेत विकास भइसकेको छ । त्यति मात्र होइन, गाडीमा सेन्सर प्रणालीको विकास भएको छ ।
जीपीएस किन राख्ने ?
लाखौं खर्च गरेर सवारीसाधन खरिद गर्ने सवारीधनीका लागि यो अति आवश्यक छ । अन्जानमा समेत दुर्घटना हुँदा सवारीधनी लाखौं रकम तिर्न बाध्य हुन्छन् ।
यद्यपि, यो उपकरण राख्यो भने सजिलै वास्तविकता पत्ता लगाउन सकिन्छ र वास्तविक दोषीको पहिचान गरी कारबाहीको दायरामा ल्याउन सकिन्छ ।
यो उपकरणको मूल्य १५ हजारसम्म पर्ने समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।

