शुक्रबार, चैत १६, २०८०

बालविकासका लागि बाध्यकारी कानून बनाउछौँ : मुख्यमन्त्री राउत

धनुषा। मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको लागि प्रदेशमा बाध्यकारी कानून बनाउने बताएका छन्।

प्रारम्भिक बालविकासको लागि प्रदेशसभा सदस्यको समन्वय समूहले आज जनकपुरमा आयोजना गरेको प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासको लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्दे मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन्।

उनले भविष्यको कर्णधार बालबालिकाको विकासको क्रम आमाको गर्भबाटै शुरु हुने भएकाले उनीहरुको स्वस्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानुनमार्फत स्थापित गर्नुपर्ने उल्लेख गरे।

मुख्यमन्त्री राउतले बालविकासको लागि आवश्यक कानूनको खाका तयार पार्न समन्वय समूहलाई निर्देशन दिँदै ती कार्यक्रममा बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए । साथै प्रदेशमा सञ्चालनमा रहेको बेटी पढाउ, बेटी बचाउ कार्यक्रमकै तर्जुमाका लागि बालविकासको छुट्टै अभियान चलाउनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री राउतले यस अभियानका लागि प्रदेश सरकार हर समय तत्पर रहने बताए।

समन्वय समूहका संयोजक एवं प्रदेशसभा सदस्य गोविन्द न्यौपानेको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्या पहाडी, एकबाल मियाँ, सरिता गिरी यादव, प्रदेशसभा सदस्य परमेश्वर साह, बाबुलाल साह, विज्ञसहितको उपस्थिति रहेको थियो।