काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणको कार्यलाई अगाडि बढाएर देशलाई सम्वृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ ले मंगलबार निजगढमा आयोजना गरेको प्रदेश २ का राष्ट्रिय गौरवको आयोजनाको गतिशिलताको लागि जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विकास निर्माणको कामलाई गति नदिए सह्य नहुने बताए ।
सरकारले विकास निर्माणको काममा तिब्रता नदिलाएमा आफू आन्दोलन र अनसन गर्न तयार रहेको बताए ।
‘तराई–मधेसका जनतासँग मेरो लभ परेको छ भनेर मैले भनेको छु,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘विकास निर्माणका कामलाई गति नदिने हो भने लभरको निम्ति म यहीँ आएर आन्दोलन गर्न तयार छु ।’
तराई मधेसको २ नम्बर प्रदेशमा अहिले विकास निर्माणका कामहरु केन्द्रित गर्ने कुरामा पार्टी र सरकारको विशेष रुपमा ध्यान गएको अध्यक्ष प्रचण्डले बताए । ‘अब नेकपाको जिम्मेवारी आएको छ,’ अध्यक्ष प्रचण्डले भने–प्रदेश २ का जनताको सम्वृद्धिको यात्रामा सम्पूर्ण ध्यान केन्द्रित छ ।’
आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ ।
