मङ्गलबार, असोज २०, २०८३

झोले चिकित्सकको भरपर्दा दुई युवाले गुमाए ज्यान

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’माथि भर पर्दा दुई जनाले ज्यान गुमाउनुपरेको छ ।

उपचारका लागि ‘झोले चिकित्सक’माथि भर पर्दा नरैनापुुर–५ मटेहियाका दुई युवकले सोमबार ज्यान गुमाउनुपरेको हो । ज्यान गुमाउनेमा सोही ठाउँका २८ वर्षीय गयाराम धोबी र उनका साला राप्तीसोनारी गाउँपालिका–७ गेदवाका २१ वर्षीय मालिकराम धोबी छन् ।

गयारामको छोराको मुण्डन (कपाल काट्ने) संस्कार कार्यक्रममा सहभागी हुन गत शुक्रबार मालिकराम आफ्नो घरमा आएको मृतक गयारामका बाबु रामसमुझ धोबीले बताए ।

आइतबार साँझ स्थानीय खाजा पसलमा खाजा खाएर घरमा आई रातिको खाना खाएर सुतेको अवस्थामा एक्कासि पेट दुखेपछि गाउँमा औषधि पसल सञ्चालन गर्दै आएका भारत श्रावस्ती जिल्लाको मनकौरा गाउँमा बस्दै आएका ‘झोले चिकित्सक’ राजेशसिंह ठाकुरले दुवै जनाको उपचार गरेको उनले बताए ।

गयाराम र मालिकरामले खाना खाएपछि बान्ता भएको र उपचारका लागि आएका ‘झोले चिकित्सक’ ठाकुरले बिरामीको रोग पहिचान नगरी अनुमानका आधारमा औषधि सेवन गर्न लगाएपछि दुवैको मृत्यु भएको थियो ।

आजको राजधानी दैनिकमा रुद्र सुवेदीले नेपालगन्जबाट यो समाचार लेखेका छन् ।