काठमाडौं । राजस्व अनुसन्धान विभागले ११ अर्ब रुपैयाँ राजस्व छलीको अनुसन्धान टुंग्याएको छ ।
गत वर्ष सुरु गरिएको नक्कली भ्याट बिल (मूल्य अभिवृद्धि कर बिजक) को अनुसन्धानमा विभागले ६ अर्ब ८२ करोड रूपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिसकेको छ । थप मुद्दा दायर गर्ने तयारी भइरहेको महानिर्देशक दीर्घराज मैनालीले बताए ।
नक्कली भ्याट बिल कारोबारमा उच्चतम कारोबार गर्ने फर्मले ७० करोडसम्म कारोबारमा मुद्दा खेप्नुपर्नेछ । विक्रेता फर्मले उनीहरूसँग वस्तु किन्ने कम्पनीका नाममा देखाएको कारोबार उक्त फर्महरूसँग भिडाउँदा नमिलेपछि खातापाता नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
यसमा एक सय २५ विक्रेताले कारोबार देखाएका नौ सय खरिदकर्ता फर्म छन् । अनुसन्धानकै क्रममा विभागले नक्कली भ्याट बिल उत्पादन गरेर बिक्री गर्ने तीन गिरोहलाई नियन्त्रणमा लिई अनुसन्धानपछि मुद्दा दायर गरिसकेको छ ।
विभागका अनुसार नक्कली भ्याट बिल बनाएर वस्तु आयात गर्दा राखेको भ्याट क्रेडिट मिलान गरी उल्टै सरकारलाई ठग्ने काम भएको छ । कतिपयले भने वस्तु बिक्री गरेर उपभोक्ताबाट भ्याट उठाएर पनि सरकारलाई बुझाएनन् ।
बरु भ्याटमा दर्ता भएका अरू फर्मसँग कारोबार भएको देखाए । मुख्य विक्रेताले भ्याटमा दर्ता भएका अर्को तहको फर्मसँग कारोबार देखाए पनि नक्कली पाइएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा पुष्पराज आचार्यले यो समाचार लेखेका छन् ।

