काठमाडौं । बहुचर्चित आयोजनाका रूपमा रहेका नागढुंगा सुरुङमार्ग आयोजनालाई भारी मात्रामा विस्फोटक पदार्थको आवश्यकता परेको जनाएको छ ।
आयोजनाको सुरुङ निर्माण प्रयोजनका लागि विस्फोटक पदार्थ आवश्यकता परेको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा सुरेश तामाङले लेखेका छन् ।
सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सुरुङ खन्ने प्रयोजनका लागि ९ सय टन विस्फोटक पदार्थ माग गरेको आयोजनाले जनाएको छ ।
‘ब्लास्ट एन्ड ड्रिल मेथड’ अर्थात् विस्फोटन र खन्ने पद्धतिअनुसार सुरुङको कामका लागि भारी मात्रामा विस्फोटक पदार्थको माग भएको आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताए ।
‘सुरुङ निर्माणका लागि भारी मात्रामा विस्फोटक पदार्थको माग छ,’ उनले भने, ‘यसका लागि हामीले प्रक्रिया थालिसकेका छौं । खरिद प्रक्रियामा सहमतिका लागि फाइल उठिसकेको छ ।’
आयोजनाले गएको हप्ता विस्फोटक पदार्थ माग भएबमोजिम फाइल उठाई प्रक्रियामा लगिसकेको छ ।

